नेभिगेशन
आइतबार, कात्तिक २९, २०८३

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा प्रदूषण उच्च

काढण्माण्डौ – तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ ।

पश्चिममा कैलालीदेखि पूर्वमा झापासम्मको आकाश धुम्मिएको छ । बुटवलमा वायु गुणस्तर सूचक अर्थात् एक्यूआई २०५ पुगेको छ ।

त्यस्तै, झापामा २०९ र कैलालीमा १७० एक्यूआई मापन गरिएको छ । बुटवल र झापाको वायुको अवस्था निकै अस्वस्थकर श्रेणीमा पुगेको हो । वायु गुणस्तर सूचक अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई)ले हावामा रहेका प्रदूषकको मात्रा र त्यसले मानव स्वास्थ्यमा पार्न सक्ने असर मापन गर्छ ।

सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो, ५१ देखि १०० सम्मलाई मध्यम र १०१ देखि १५० सम्मलाई संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ ।

त्यस्तै, १५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ र ३०१ भन्दा माथिको अवस्थालाई खतरनाक मानिन्छ । वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको अवस्थामा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दम, मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्छन् ।

जलवायु विज्ञ उज्ज्वल उपाध्यायका अनुसार पाकिस्तान र पश्चिम भारतका मरुभूमिबाट उडेर आएको धुलो तथा भारतका विभिन्न क्षेत्रमा धान काटेपछि खेतमा पराल जलाउँदा निस्किएको धुवाँका कारण नेपालमा वायु प्रदूषण बढेको हो । प्रदूषित हावामा विशेषगरी अत्यन्त मसिना धुलोका कण, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र अन्य हानिकारक ग्यास रहने गर्छन् ।

काठमाण्डौ उपत्यकामा वायुको गुणस्तर अस्वस्थकर अवस्थामा छ । काठमाण्डौको वायुको गुणस्तर एक्यूआई १५० देखि १७० को आसपास छ । प्रदूषणको मात्रा उच्च भएका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन, बिहान र बेलुका बढी धुलो तथा धुवाँ भएको स्थानमा हिँडडुल नगर्न र बाहिर निस्कनै परे राम्रो गुणस्तरको मास्क प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

तराईका धेरैजसो ठाउँमा आंशिक बदली रहे पनि मौसम मुख्यतया सफा रहने अनुमान छ । पश्चिमी चितवन र नवलपरासीका केही ठाउँमा वर्षा हुन सक्ने जलवायु विज्ञ उज्ववल उपाध्यायले बताउनुभएको छ । तराईमा वर्षाको सम्भावना कम रहेकाले छठपर्व मनाइरहेका श्रद्धालुहरूलाई पनि राहत मिल्ने देखिएको छ ।  पहाडी र हिमाली क्षेत्रमा भने आज मौसम बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै चक्रवातमा परिणत हुने सम्भावना छ । 

प्रकाशित मिति:
थप समाज