नेभिगेशन
बुधबार, मंसिर २, २०८३

राष्ट्र बैंकको सम्पत्ति र दायित्व ३९ खर्ब नजिक, सरकारले ४२ अर्ब रुपैयाँ लाभांश पाउने

काठमाण्डाै – नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति र दायित्व झन्डै ३९ खर्ब रुपैयाँ नजिक पुगेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरणअनुसार राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७२ अर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।

विदेशी विनिमय सञ्चितिमा भएको उल्लेख्य वृद्धि र त्यसको उचित व्यवस्थापनका कारण केन्द्रीय बैंकको वासलातको आकारमा यो विस्तार देखिएको हो ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९४ अर्ब ५६ करोड रुपैयाँभन्दा धेरै कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्याजदर उच्च रहँदा विदेशी मुद्राको लगानीबाट प्राप्त प्रतिफल बढेपछि राष्ट्र बैंकको आम्दानीमा सुधार आएको हो ।

यसैबीच खुद ब्याज आम्दानीमा भएको वृद्धिसँगै नेपाल राष्ट्र बैंकले गएको आर्थिक वर्षमा कुल ८३ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लेखापरीक्षण सम्पन्न भएपछि बसेको बैंक सञ्चालक समितिको बैठकले मुनाफा बाँडफाँट गर्ने निर्णय गरेको हो ।

खुद मुनाफाबाट विभिन्न अनिवार्य तथा जगेडा कोषहरूमा आवश्यक रकम विनियोजनपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई लाभांश स्वरूप उपलब्ध गराउने निर्णय बैंकले गरेको छ ।

प्रकाशित मिति:
थप अर्थ