नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

कोप–३१ को नयाँ मस्यौदामा हिमालसम्बन्धी छुट्टै कार्यक्रम प्रस्ताव

काठमाण्डौ – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को समग्र निर्णयको नयाँ मस्यौदामा हिमाल र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम स्थापना गर्ने प्रस्तावमा समेटिएको छ ।

नेपाल, भुटान र किर्गिस्तानले संयुक्त रूपमा अघि सारेको प्रस्ताव मस्यौदाको अनुच्छेद २२ र २३ मा समेटिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

प्रस्तावअनुसार कार्यान्वयनसम्बन्धी सहायक निकाय (एसबीआई) तथा वैज्ञानिक तथा प्राविधिक सल्लाहसम्बन्धी सहायक निकाय (एसबीएसटीए) अन्तर्गत हिमाल र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गरिनेछ ।

कार्यक्रममार्फत हिमाली क्षेत्रको जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, उत्थानशीलता अभिवृद्धि, वैज्ञानिक तथ्याङ्क तथा अवलोकन प्रणाली र पूर्वचेतावनी प्रणाली सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

प्रभाव, जोखिम र अनुकूलनसम्बन्धी नैरोबी कार्य कार्यक्रमलाई प्रस्तावित कार्यक्रमको ज्ञान साझेदारका रूपमा राखिएको छ । मस्यौदामा सन् २०२७ र २०२८ मा हुने सहायक निकायका बैठकमा हिमाल र जलवायु परिवर्तनसम्बन्धी संवाद आयोजना गर्ने प्रस्ताव पनि छ ।

यो संवादमार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे वैज्ञानिक बुझाइ र चेतना अभिवृद्धि गर्ने तथा त्यसको प्रतिवेदन तयार गरी आउँदो कोप–३२ मा उच्चस्तरीय छलफल गर्ने प्रस्ताव गरिएको छ । यद्यपि संवादको नाम र प्रतिवेदन प्रस्तुत गर्ने बैठकलगायत केही विषयमा सहमति जुट्न बाँकी छ ।

यो प्रस्तावलाई अन्तिम निर्णयमा समावेश गराउन नेपालले आफ्नो अडान कायम राखेको छ । हिमनदी पग्लने, हिमताल विस्फोट, बाढीपहिरो तथा जलवायुजन्य विपद्का बढ्दो जोखिमले हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ निर्भर समुदाय प्रभावित भइरहेका छन् ।

यस्तो अवस्थामा सम्मेलनको मस्यौदामा प्रस्तावित कार्य कार्यक्रमलाई नेपालले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । 
 

प्रकाशित मिति:
थप समाज