नेभिगेशन
आइतबार, मंसिर ६, २०८३

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण : पर्याप्त परामर्श नभएको टिप्पणी

काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाह भोलि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री पद सम्हालेपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो । शाह भोलि दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भारतको संक्षिप्त बसाइका क्रममा उहाँले उच्चस्तरीय कूटनीतिक भेटवार्ताहरू गर्नुहुनेछ ।

नयाँदिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्ने शाहसँग भोली बेलुका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेट गर्नुहुनेछ ।

भ्रमणको मुख्य दिन अर्थात् पर्सि सोमबार बिहान राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत गर्नुहुनेछ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ ।

वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, शिक्षा, स्वास्थ्य, कृषि र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।

यसैबीच, प्रधानमन्त्रीको आसन्न भ्रमणलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिप्पणीहरू बाहिर आएका छन् । पूर्वप्रधानमन्त्रीहरू तथा राजनीतिक दलहरूसँग परम्परागत रूपमा हुने परामर्श पर्याप्त नभएको भन्दै केही दलले असन्तुष्टि जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसले छलफल नगरेकोमा असन्तुष्टि जनाउँदै भ्रमण पूर्ण सफलताको शुभकामना व्यक्त गरेको छ । निजी क्षेत्रले यस भ्रमणलाई व्यापार घाटा न्यूनीकरण, हवाई रुटको सहजता र लगानी वृद्धिको सुनसवर अवसरका रूपमा लिनुपर्ने सुझाव दिएका छन् ।

द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह पर्सि सोमबार बेलुका स्वदेश फर्कनुहुनेछ ।  

प्रकाशित मिति:
थप राजनीति