नेभिगेशन
आइतबार, मंसिर ६, २०८३

इरान युद्धलाई लिएर अमेरिकामा सरकारी कामकाज ठप्प हुने खतरा

इरान युद्ध र अमेरिकी रक्षा विभाग (पेन्टागन) का लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ३५० अर्ब अमेरिकी डलर अर्थात् ५१७ खर्ब ८१ अर्ब रुपैयाँ माग गरेको विषयलाई लिएर अमेरिकी कंग्रेसमा मतभेद चर्किएको छ । यसले क्रिसमसअघि अमेरिकी सङ्घीय सरकार शटडाउन हुने जोखिम बढाएको छ ।

प्रमुख दुई दल डेमोक्र्याटिक र रिपब्लिकनका सांसदहरूले मतभेदका कारण सरकारी बजेटमा सहमति जुटाउन कठिनाइ हुन सक्ने चेतावनी दिएका समाचार संस्था रोयटर्सको प्रतिवदेनले जनाएको छ ।

अहिलेको अमेरिकी सरकारी बजेट आउँदो डिसेम्बर ११ सम्मका लागि मान्य छ । सङ्घीय सरकारी विभागहरूको सञ्चालनका लागि थप रकम उपलब्ध गराउने विषयमा सहमति जुटाउन सांसदहरूसँग झन्डै तीन हप्ताको समय छ ।

अमेरिकी सिनेटमा हुने मतभेदहरू विशेषगरी गम्भीर प्रकृतिका हुन्छन् । दुई दलबीच सहमतिमा तयार पारिएको बजेट प्याकेज पारित गर्न १०० मध्ये कम्तीमा ६० मत आवश्यक पर्छ ।

भर्मन्ट राज्यका डेमोक्र्याटिक पार्टीका सिनेटर पिटर वेल्चले आफूहरू युद्धका लागि रकम उपलब्ध गराउन नचाहने तर साथै सरकारी कामकाज ठप्प भएको पनि हेर्न नचाहेने बताउनुभएको छ । उहाँले यसको समाधान कसरी खोज्ने भनेर प्रश्न गर्नुभएको छ ।

सन् २०२५ को अक्टोबर १ देखि नोभेम्बर १२ सम्म अमेरिकामा ४३ दिन लामो ’शटडाउन’ भएको थियो ।

प्रकाशित मिति:
थप विश्व