नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

भक्तपुरमा होल्डिङ सेन्टर खाली गर्न आजसम्मको समयसीमा, जबर्जस्ती नहटाउन माग

काठमाण्डौ – भक्तपुर बोडेको होल्डिङ सेन्टरमा बसेका विस्थापित परिवारलाई आज दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न प्रहरीले माइकिङ गरेको छ ।

होल्डिङ सेन्टरमा थापाथलीबाट लगिएका १९ परिवारका ५९ जना बसिरहेका छन् । यसअघि अस्ति बुधवार जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि होल्डिङ सेन्टर खाली गर्न सूचना टाँसेको थियो ।

प्रशासनको सूचनापछि बोडे, खरिपाटी र इचंगुनारायणका विस्थापितले हिजो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सूचना तत्काल फिर्ता लिन र वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नभएसम्म कुनै पनि परिवारलाई जबरजस्ती नहटाउन माग गरेका छन् ।

उनीहरूले जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन तथा सुकुमवासी नठहर्‍याउने निर्णय पुनरावलोकन गर्न माग गरेका छन् । हरेक परिवारको वास्तविक जग्गा, आवासीय र आर्थिक अवस्थाबारे प्रत्यक्ष संवाद र स्थलगत छानबिन गरेर निर्णय गर्नुपर्ने उनीहरूको भनाइ छ ।

१५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धताअनुसार भूस्वामित्वसहितको आवास, भत्काइएका घरटहराको क्षतिपूर्ति र निष्कासनका क्रममा भएका घटनाको छानबिन गर्न पनि उनीहरुको माग छ ।

गएको वैशाख १२ गते सरकारले थापाथली, मनोहरा र सिनामंगललगायतका नदी किनारका बस्तीमा डोजर चलाएको थियो । त्यसपछि विस्थापित भएका परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।

त्यसबेला सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि ८ महिना बितिसक्दा पनि पुनःस्थापनाको टुंगो लागेको छैन । 

प्रकाशित मिति:
थप समाज