नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

चितवनको घोप्टेभीर सडक खण्ड पूर्णरुपमा खुल्यो, तुइनखोलामा आजदेखि ५ घण्टा बन्द गरिँदै

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीर सडक खण्ड हिजो बेलुकादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभीरमा गएको मङ्सिर ५ गतेदेखि दिउँसोमा गाडी रोकेर सुक्खा पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो ।

घोप्टेभीरको पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम सकिएको र सडक सहज भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घोप्टेभीरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा तथा मुग्लिन–काठमाण्डौ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा छ ।

यसैबीच, आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना नआएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुँदैछ ।

यो सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले गाडीको आवागमन ५ घण्टा रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

यो समयमा काठमाण्डौ–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा ओहोरदोहोर गर्ने गाडी आवागमन भने नरोकिने प्रशासनले जनाएको छ । प्रशासनले यात्रु तथा गाडी चालकलाई समयतालिकाअनुसार यात्रा गर्न आग्रह गरेको छ । 

प्रकाशित मिति:
थप समाज