नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

उत्तरी कोरला नाकामा डीपीआर सर्भे भएको ४ वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण कार्य शुरु भएन

काठमाण्डौ – नेपाल–चीन उत्तरी मुस्ताङको कोरला नाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको ४ वर्ष पुग्न लागेको छ ।

तर पूर्वाधार निर्माण कार्य शुरु हुन सकेको छैन । २०७९ साल फागुनमा कोरला नाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डीपीआर सर्भे गरेको थियो ।

त्यसअघि नै नाकाको नेपालतर्फ झण्डै एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो । चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो ।

प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहितका आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको थियो ।

सितारा इन्टुसीप–फुलराइट जेभीले एक करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी डीपीआर सर्भे सम्पन्न गरेको थियो । प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दासमेत पूर्वाधार निर्माणको काम शुरु नहुनु दुःखद् भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो ।

चीनसँग सीमा जोडिएका नाकामध्ये कोरला नाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार व्यवस्थापन र पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको अध्यक्ष विष्टको भनाइ छ ।

कोरला नाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ । गएको वर्ष यो नाकाबाट ६ अर्बभन्दा धेरै राजस्व सङ्कलन भएको थियो ।      

प्रकाशित मिति:
थप समाज