नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

फकल्यान्ड्समा तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास अस्वीकृत

फकल्यान्ड टापु नजिकको तेल अन्वेषण परियोजनालाई रोक्ने अर्जेन्टिनाको प्रयासलाई संयुक्त राष्ट्र सङ्घ समर्थित एक अन्तर्राष्ट्रिय न्यायाधीकरणले अस्वीकार गरेको छ ।

अर्जेन्टिनी सरकारले ‘सी लायन’ परियोजना रोक्न माग गरेको थियो । बेलायती विदेशी भू–भाग ‘फकल्यान्ड्स’ को सार्वभौमिकतालाई लिएर विवाद चलिरहेको उसको दाबी थियो । बेलायतले भने यो दाबीलाई पटक–पटक अस्वीकार गर्दै आएको छ ।

‘समुद्री कानूनसम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधिकरण’ का अध्यक्ष न्यायाधीश मौरिस केन्ग्ने कामगाले सार्वभौमसत्तासम्बन्धी प्रश्नहरूमा फैसला सुनाउन यो अदालत उपयुक्त नभएको बताउनुभएको बीबीसीले जनाएको छ । १८–३ को मतदानद्वारा यो निर्णयलाई सदर गरिएको खबरमा उल्लेख छ ।

यद्दपि यो फैसलापछि अर्जेन्टिनाका राष्ट्रपति हाभियर माइलीले यो निर्णय अन्तिम नभएको भन्दै ‘फकल्यान्ड टापु अर्जेन्टिनाका हुन्’ भनेर घोषणा गर्नुभएको छ ।

यस महिनाको शुरूमा ह्याम्बर्गमा बेलायतका तर्फबाट कानूनी तर्कहरू प्रस्तुत गर्नुभएकी इङ्गल्यान्ड र वेल्सकी महान्यायाधिवक्ता एली रिभ्सले यो फैसला ‘वास्तवमै महत्त्वपूर्ण’ र ‘बेलायती सरकारका लागि स्पष्ट जीत’ भएको उल्लेख गर्नुभएको छ ।

यो घटना बेलायत र अर्जेन्टिनाबीचको पछिल्लो कूटनीतिक विवाद हो । यी दुई देशले सन् १९८२ मा फकल्यान्ड टापुलाई लिएर ७४ दिनसम्म युद्ध लडेका थिए ।

फकल्यान्ड टापुबाट झन्डै २०९ किलोमिटर टाढा रहेको ‘सी लायन’ तेल क्षेत्रमा अनुमानित १ अर्ब ७० करोड ब्यारेल तेल रहेको छ ।

बेलायतको ‘रकहपर एक्सप्लोरेशन’ र इजरायलको ‘नाभिटास पेट्रोलियम’ नामक दुई तेल कम्पनीले दुई वर्षभित्र यस तेल क्षेत्रबाट उत्खनन शुरू गर्ने तयारी गरेका छन् । यसबाट ती टापुमा बसोबास गर्ने झन्डै ३ हजार ५०० बासिन्दाका लागि ठूलो परिमाणमा राजस्व प्राप्त हुने सम्भावना छ ।

प्रकाशित मिति:
थप विश्व