नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणालीमा ह्याकरको अनधिकृत पहुँच

काठमाण्डौ - अमेरिकी वायुसेनाको प्रमुख तथा अति संवेदनशील क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरहरूले अनधिकृत रूपमा पहुँच बनाएका छन् ।

यस घटनाले अमेरिकी सैन्य सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उब्जाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सन् २०१७ मा स्थापित ‘क्लाउड वन’ प्रणालीमा माइक्रोसफ्ट, अमेजन, ओरकल र अल्फाबेट जस्ता ठूला प्रविधि कम्पनीहरूको स्रोत प्रयोग गरिएको छ ।

यस प्रणालीले सेनाका कर्मचारीहरूको विवरण, पारिश्रमिक, रसद तथा मर्मत सम्भारसम्बन्धी दर्जनौँ महत्त्वपूर्ण प्रणालीहरू सञ्चालन गर्दै आएको छ । ह्याकरहरूले सफ्टवेयरको कमजोरीको फाइदा उठाउँदै प्रणालीको मुख्य ‘कन्ट्रोल प्लेन’ सम्म पहुँच पुर्‍याएको खुल्न आएको छ ।

यस किसिमको पहुँचलाई सबै उपकरण नियन्त्रण गर्न सकिने ‘युनिभर्सल रिमोट’ सँग तुलना गरिएको छ । यद्यपि, ह्याकरहरूले यसको प्रयोग गरेर सैन्य विमानको सञ्चालन अवस्था वा अन्य गोप्य सूचनाहरू निगरानी गरे/नगरेको अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

घटनापछि अमेरिकी सेनाले सुरक्षा जाँच तीव्र पार्दै साइबर कमान्डलाई समेत परिचालन गरेको छ भने प्रणालीमा नयाँ एप्लिकेसनहरू थप्ने काम रोकिएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको दुरुपयोग गरी साइबर आक्रमण बढेको वर्तमान अवस्थामा यो घटनालाई निकै गम्भीर रूपमा लिइएको छ। 
 

प्रकाशित मिति:
थप विश्व