नेभिगेशन
शनिबार, मंसिर १२, २०८३

न्युजिल्याण्डमा कुनै पनि गठबन्धनलाई बहुमत पुगेन

न्युजिल्याण्डमा भएको आम चुनावको अन्तिम नतिजाले कुनै पनि राजनीतिक गठबन्धनलाई स्पष्ट बहुमत नदिएपछि त्यहाँ त्रिशंकु संसद बन्ने भएको छ ।

यससँगै नयाँ सरकार गठन अनिश्चित बनेको छ भने फेरि चुनाव हुन सक्ने सम्भावना देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पार्टी सम्मिलित सत्तारुढ गठबन्धनले ६५ सिट जितेको छ ।

संसद्मा बहुमतका लागि ६६ सिट आवश्यक पर्ने भएकाले गठबन्धन एक सिटले पछाडि परेको छ । त्यस्तै, विपक्षी दलहरूले संयुक्त रूपमा ५८ सिट जितेका छन् । विपक्षी गठबन्धनमा लेबर पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।

नोभेम्बर ७ तारिखमा सम्पन्न चुनावको अन्तिम सार्वजनिक नतिजाअनुसार संसद्को आकारसमेत बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सामान्यतया १२० सदस्यीय रहने संसद्मा यसपटक १० वटा अतिरिक्त सिट थपिएपछि सदस्य संख्या १३० पुगेको छ ।

निर्वाचन क्षेत्रमा प्राप्त सिट पार्टीले पाएको समानुपातिक मतको हिस्साभन्दा धेरै हुँदा सम्बन्धित दललाई अतिरिक्त सिट दिनुपर्ने अवस्थालाई ओभरह्याङ सिट भनिन्छ । अन्तिम नतिजाअनुसार नेसनल पार्टीले ४० सिट प्राप्त गरेको छ ।

पूर्वप्रधानमन्त्री क्रिस हिप्किन्स नेतृत्वको लेबर पार्टीले भने ३६ सिट कायम राखेको छ । नेसनल पार्टीले २८.४ प्रतिशत र लेबर पार्टीले २९.९ प्रतिशत पार्टीगत मत प्राप्त गरेका छन् । सरकार र विपक्षी दुवै गठबन्धनभन्दा बाहिर रहेको अपरच्युनिटी पार्टीले ७ सिट प्राप्त गरेको छ ।

अन्तिम नतिजापछि सरकार गठन गर्न सत्तारुढ गठबन्धनलाई अपरच्युनिटी पार्टीको समर्थन आवश्यक पर्ने भएको छ । विपक्षी दलले अपरच्युनिटी पार्टीको समर्थन पाए पनि बहुमत पु¥याउन सक्ने छैनन् ।

न्युजिल्याण्डमा सामान्यतया दुई वा दुईभन्दा धेरै दल मिलेर सरकार गठन गर्ने व्यवस्था छ ।
 

प्रकाशित मिति:
थप विश्व