नेभिगेशन
शनिबार, मंसिर १२, २०८३

अस्ट्रेलियाका अनुसन्धानकर्ताले बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै

बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियाका अनुसन्धानकर्ताले बृहत्त अनुसन्धान शुरु गरेका छन् ।

बालबालिकामा बोलीसम्बन्धी समस्याको पहिचान गरी समयमै निदान, उपचार तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने अनुसन्धानको उद्देश्य रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अनुसन्धानका लागि अस्ट्रेलियाभरबाट बोलीसम्बन्धी समस्या भएका १ हजार ५०० बालबालिकालाई सहभागी गराइने भएको छ । मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको नेतृत्वमा सञ्चालन हुने यो अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका समेटिनेछन् ।

मर्डोक बाल अनुसन्धान संस्थानले विज्ञप्तिमार्फत ‘बोलीमा जिनको भूमिका’ नाम दिइएको यो अध्ययनले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत कारणहरूको पहिचान गर्नेछ । विश्वभर पूर्वप्राथमिक तहका झण्डै १० प्रतिशत बालबालिकाले बोल्न सिक्ने क्रममा उच्चारणसम्बन्धी त्रुटि अनुभव गर्छन् ।

कतिपय बालबालिकामा उमेर बढ्दै जाँदा यस्ता समस्या आफैँ कम हुँदै जान्छन् भने केहीमा लामो समयसम्म कायम रहन सक्छन् । लामो समयसम्म बोलीसम्बन्धी समस्या रहँदा बालबालिकाको दैनिक सञ्चार, शैक्षिक उपलब्धि तथा सामाजिक विकासमा असर पार्न सक्छ ।

स्पष्ट रूपमा बोल्न कठिनाइ हुँदा उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, अरूसँग कुराकानी गर्न तथा विद्यालयका सिकाइ गतिविधिमा सहभागी हुन समस्या हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

यसअघि गरिएका विभिन्न अनुसन्धानमा केही दुर्लभ बोलीसम्बन्धी समस्यासँग सम्बन्धित एकल जिन पहिचान गरिएको थियो । तर, अहिले शुरु गरिएको अध्ययनले तुलनात्मक रूपमा धेरै बालबालिकामा देखिने समस्याको कारण पत्ता लगाउन केन्द्रित हुनेछ । 
 

प्रकाशित मिति:
थप विश्व