नेभिगेशन
शनिबार, मंसिर १२, २०८३

विपक्षीलाई सार्वजनिक पद धारण गर्नबाट रोक्ने कानून खारेज गर्दै भेनेजुएला

भेनेजुएलाले विपक्षी नेताहरूलाई सार्वजनिक पद धारण गर्नबाट रोक्ने कानून खारेज गर्ने नेशनल एसेम्बलीका सभामुख जर्ज रोड्रिगेजले बताउनुभएको छ ।

दुई वर्षअघि ल्याइएको यो कानूनले राजनीतिक उत्पीडनलाई प्रश्रय दिने गरेको भन्दै आलोचना हुँदै आएको छ । यद्दपि रोड्रिगेजले कुनै पनि राजनीतिज्ञलाई यस कानूनका प्रावधानहरूको सामना गर्न नपरेको उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ ।

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका दाजुसमेत रहनुभएका उहाँले अर्को हप्ता सुधारहरू अनुमोदन हुने अपेक्षा गरेको बताउनुभयो ।

‘सिमोन बोलिभार कानून’ भनेर चिनिने यो कानून सन् २०२४ को जुलाईमा भएको चुनावलगत्तै पारित गरिएको थियो । त्यो चुनावमा व्यापक धाँधलीको आरोपका बीच तत्कालीन राष्ट्रपति मादुरोलाई विजेता घोषणा गरिएको थियो ।

यस कानूनमा भेनेजुएलाविरुद्ध विदेशी प्रतिबन्धहरूको माग गर्ने वा तिनलाई समर्थन गर्ने व्यक्तिहरूलाई राजनीतिक पद धारण गर्नबाट स्थायी रूपमा रोक लगाइने र उनीहरूको सम्पत्ति जफत गरिने उल्लेख छ ।

यस वर्षको शुरूमा पूर्वराष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिएपछि सत्ता सम्हाल्नुभएकी डेल्सी रोड्रिगेजको अन्तरिम सरकारले विपक्षी दलहरूसँग वार्ता गरिरहेको छ ।

उहाँले देशमा स्वतन्त्र र निष्पक्ष चुनाव हुने प्रतिबद्धता जनाए पनि मिति भने तोक्नुभएको छैन ।

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचाडोलाई सत्ता हस्तान्तरणसम्बन्धी वार्ताबाट बाहिर राखिएको भए पनि चुनाव हुने अवस्थामा उम्मेदवार बन्ने सम्भावना प्रबल रहेको मानिएको छ ।

१० महिनाभन्दा धेरै समय निर्वासनमा बिताएपछि माचाडो गएको अक्टोबरमा स्वदेश फर्किनुभएको हो ।

सन् २०२४ को चुनावमा मादुरो सरकारले माचाडोलाई उम्मेदवार बन्न रोक लगाएपछि उहाँको ठाउँमा उहाँका सहयोगी एडमुन्डो गोन्जालेजले प्रतिस्पर्धा गर्नुभएको थियो ।

सरकारसँग निकट सम्बन्ध रहेको निर्वाचन निकायले मतदानको विस्तृत विवरण सार्वजनिक नगरिकन मादुरोलाई विजयी घोषणा गरेको थियो ।

प्रकाशित मिति:
थप विश्व