आबुधाबीमा अलपत्र १२ मध्ये ७ नेपाली स्वदेश फर्किए

 जेठ ३०, २०७६ बिहिबार १२:३६:२९ | उमाकान्त पाण्डे

यूएई – संयुक्त अरब एमिरेट्स (यूएई)मा अलपत्र परेका १२ नेपालीमध्ये ७ जना नेपाली घर फर्किएका छन् । कम्पनीले काम गरे बापतको तलब नदिएपछि खाना, बस्न समस्या भएकाले उनीहरु झण्डै तीन महिनादेखि अलपत्र थिए । 

नवलपरासीका गया चौधरी, सुनसरीका इन्द्र महतो, मोरङका सन्तोष गुरुङ, सानु राई, लालध्वज राई,  काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे फर्किएका हुन् ।

४ जना मंगलबार र ३ जना बुधबार नेपाल फर्किएका हुन् । समस्यामा परेका उनीहरुले यूएईमा रहेको नेपाली दूतावासमा निवेदन दिएको एक महिनापछि उद्धार भएको हो । 

काठमाण्डौं महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज म्यानपावरमार्फत यूएईको एटोन कन्ट्र्याक्टिङ मेन्टिनेन्स् कम्पनीमा ९ महिना पहिले आएका उनीहरुमध्ये आबुधाबीको मुसाफा ८ नम्बर मजदुर क्याम्पमा ७ जना र बाँकी ५ जना दुबईमा थिए । 

दूतावासमा आफ्नो समस्या राख्न जाने पैसासमेत नभएकाले आफूहरु आबुधाबी जान नपाएको दुबईमा अलपत्र ५ नेपालीले बताएका छन् ।

दुबईमा अलपत्र ५ जना दूतावासभन्दा झण्डै १ सय ५० किलोमिटर टाढा छन् । सबैले राजीनामा बुझाएर बसेको पीडित शिशिर राईले बताउनुभयो । आफूहरु समस्यामा परेकोबारे आफ्ना आबुधाबीका साथीहरुले दूतावासमा जानकारी गराए पनि दूतावासले सम्पर्क नगरेको उनीहरुको गुनासो छ । 

आबुधाबीमा समस्यामा परेका ७ जनालाई नेपाल फर्काए पनि उनीहरुले काम गरेबापत पाउनुपर्ने रकमसमेत पाएका छैनन् । 

कम्पनीले १ महिनाको ८ सय दिर्हाम तलब दिए पनि दुई वर्षे करार अवधि पूरा नगरी फर्किन खोजेको भन्दै अन्यत्र काम गर्ने गाउँका साथीसँग ऋण लिएर घर फर्किएको मोरङका सन्तोष गुरुङले बताउनुभयो । 

फर्किएका ४ जनालाई कम्पनीले जरिवाना तिराएको र ३ जनालाई  एक महिनाको तलवबाट कटाएर कम्पनीले हवाई टिकट उपल्बध गराएको हो । तर ६ महिनामा अतिरिक्त समय गरेको कामको पैसा पनि नदिएको अर्घाखाँचीका हरिप्रसाद गैरेले उज्यालोलाई बताउनुभयो । 

दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीले तत्काल कम्पनीसँग सम्पर्क गरी समस्या सुल्झाउन आग्रह गरे पनि रमादान पर्वका कारण थप एक महिना समय लागेको बताउनुभयो । 

फर्किएका पीडितहरुले म्यानपावर कम्पनीसँग क्षतिपूर्तिको माग गरेका छन् ।

 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया