बलात्कारको आरोपमा नेकपाका स्थानीय नेता पक्राउ

 मंसिर १७, २०७६ मंगलबार १७:१०:४३ | दीपक भट्ट
unn.prixa.net

सांकेतिक तस्बिर

रामेछाप – बलात्कारको आरोपमा रामेछापमा एक जना पक्राउ परेका छन् ।

उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४० वर्षीय संगीत सुनुवारले १३ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थानीय नेतासमेत रहेका सुनुवारले गाउँकै १३ वर्षीयालाई फकाई गएको मंसिर २ गते बलात्कार गरेको आरोप लागेको छ । बलात्कारपछि नेता सुनुवारले ती बालिकालाई कसैलाई पनि नभन्नु भन्दै फकाएर घर पठाएका थिए । बलात्कारपछि डराइडराई घर पुगेकी ती बालिकाले नेता सुनुवारको डरको कारण घरमा केही नभनी बसेकी थिइन् ।

पछि पुनः सुनुवारले ती बालिकालाई बोलाएर बलात्कार गर्न खोजे तर बालिका उम्केर भाग्न सफल भइन् । आफूमाथि एक पटक बलात्कार गरेको र पटक पटक बलात्कारको प्रयास गरेपछि ती बालिकाले बाध्य भएर आमालाई सबै कुरा सुनाइन् ।

घटनाको विषयमा छोरीले सबै कुरा सुनाएपछि उनकी आमाले प्रहरी चौकी बाम्तीमा उजुरी गरेकी थिइन् । वाम्ती प्रहरी चौकीले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको नेतृत्वमा प्रहरी परिचालन गरेको थियो । प्रहरीले सुनुवारलाई उनकै घरबाट सोमवार नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम मन्थली ल्याएको  छ ।

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका नेता सुनुवारको स्वास्थ्य परीक्षण गराई रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य परीक्षणमा सुनुवारले बलात्कार गरेको रिर्पोट आएकाले उनलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धानमा जुटेका छौँ ।’     

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया