मध्यपूर्वमा एक लाख नेपाली उद्धारको पर्खाइमा, स्वदेश फर्किने वातावारण मिलाउन सरकारलाई एनआरएनएको आग्रह

 भदौ ७, २०७७ आइतबार १५:३४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मध्यपूर्वका देशमा उद्धारको पर्खाइमा रहेका एक लाख नेपाली श्रमिकलाई स्वदेश फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारसँग आग्रह गरेको छ । ​

एनआरएनएको कोभिड १९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले मध्यपूर्वका देशमा अझै एकलाख नेपाली श्रमिक उद्धारको पर्खाइमा रहेको बताउनुभएको छ । उहाँले मध्यपूर्वका देश लगायत अन्य विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुलाई नेपाल फर्कनको लागि सहज वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गर्नुभएको हो ।

पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै अध्यक्ष पन्तले यस्तो आग्रह गर्नुभएको हो ।

सरकारले स्वदेश फिर्तीमा उचित सम्बोधन नगरिदिंदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उहाँले बताउनुभयो । नेपालमा आफ्न्तको काजकिरिया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीहरुलाई समेत आवश्यक भिसा, सुविधा उपलब्ध गराई नियमित उडानमार्फत नेपाल फर्किने वातावरण मिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले सशर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारिक र व्यवस्थित गर्नसमेत संघले नेपाल सरकार समक्ष आग्रह गरेको छ । यसअघि विदेशमा अलपत्रमध्ये अहिलेसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ ।

गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउमा विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० देशमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया