आजदेखि देशैभर भेरोसेल खोप, कुन  जिल्लामा कुन उमेर समूह ?

 असोज ४, २०७८ सोमबार ७:१४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ‍, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका सबै नागरिकलाई खोप दिइने छ । यी जिल्लामा खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप लगाइने मन्त्रालयले जनाएको छ ।

मनाङ, मुस्ताङ र रुकुम पूर्वबाहेक ५५ जिल्लामा भने ४५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेका सबै नागरिकलाई खोप दिइनेछ ।

काभ्रे र चितवनमा भने ३५ वर्षमाथिका सबै नागरिक र १८ वर्षमाथिको खोप लगाउन छुटेका विद्यार्थीलाई लगाइने छ । सबै जिल्लामा खोप लगाउन छुटेका १८ वर्षमाथिका विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ ।

खोप लगाउन जाँदा आफ्नो उमेर र पेसा खुल्ने परिचय पत्र अनिवार्य लिएर जान आग्रह गरिएको छ । परिचय पत्र नभएको खण्डमा पालिकाबाट उमेर खुल्ने सिफारिस लिएर जान भनिएको छ । आजदेखि सुरु खोप अभियान आउँदो  १४ गतेसम्म चल्ने छ ।

अहिले पहिलो डोज लगाएकालाई कार्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो डोज खोप लगाइने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया