मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई चौथो पटक विश्वासको मत

 बैशाख ५, २०८१ बुधबार ६:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । हिजोको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलहरूले बहिष्कार गरे पनि सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रस्तावको पक्षमा ६१ मत परेको छ ।

एक सय सात सदस्यीय प्रदेशसभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिष्कार गरे पनि यादवलाई बैठकमा उपस्थित सबै ६१ प्रदेशसभा सदस्यको मत प्राप्त भएको हो । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवलाई जसपा, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

गएको माघ ८ गते सप्तरी राजविराजको मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको झडपका विषयमा संसदीय छानबिन समितिको माग गर्दै जनमत पार्टीका प्रदेशसभा सदस्यले लगातार तेस्रो पटक नाराबाजीसहित विरोध गरेका थिए ।

पहिलो र दोस्रो पटक विरोध गर्दा केही समयका लागि बैठक स्थगित गरेका सभामुख मण्डले तेस्रो पटक विरोध गर्दा जनमत पार्टी प्रदेशसभा संसदीय दलका नेता महेशप्रसाद यादवलाई बैठक कक्षबाट बाहिर निकाल्न रुलिङ गुर्नभएको थियो । त्यसपछि जनमतका सबै प्रदेशसभा सदस्यले बैठक बहिष्कार गरेका थिए ।

 त्यसैगरी बैठक सञ्चालनको प्रक्रिया नमिलेको भन्दै कांग्रेस र प्रमुख प्रतिपक्षीलगायत दलका प्रदेशसभा सदस्यले बहिष्कार गरे पनि बैठक स्थगित नगरिएको भन्दै पनि बैठक बहिष्कार गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया