सरकारले सय गन्तव्य सूचीमा समावेश गरेको बराहपोखरी गेगरले पुरिँदै

 भदौ १३, २०८० बुधबार ११:४:३१ | दमन राई
unn.prixa.net

खोटाङ– सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको स्वरुप बिग्रेको छ । 

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको बराहपोखरीमा वर्षाको समयमा माथिबाट झरेको भलबाढीले बगाएर ल्याएका ढुङगा, माटो र बालुवाको गेगर थुप्रिएको छ ।

ढुङगा माटोले बराहपोखरीको झण्डै आधाजसो भाग पुरेको छ ।

छेउबाट गेगरले पुरिँदै गएका कारण पोखरीको स्वरुप र सुन्दरता नै बिग्रिएको बराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । 

कुनैबेला गोलो आकारको बराहपोखरी गेगरले पुरिएर अहिले आकार नै अर्को भएको छ ।

चारैतिर पहाडले घेरिएको खाल्डोमा रहेको बराहपोखरीलाई उचित विकास र सम्वर्द्धन गर्न सके प्रमुख पर्यकीय स्थलका रुपमा विकास गर्न सकिने सम्भावना छ ।

तर संरक्षण र सम्वर्द्धनको अभावमा पोखरीको अस्तित्व संकटमा पर्दै गएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

मुहान र निकास हुने ठाउँ नदेखिए पनि बार्‍है महिना पानी हुनु बराहपोखरीको विषेशता हो ।

लोपोन्मुख मानिने रातो माछा बराहपोखरीको अर्को आकर्षण हो ।

झण्डै चार दशकअघिसम्म बराहपोखरीमा गेगर पसेको थिएन । पानी टन्न थियो ।

तर २०४१/०४२ को वर्षामा पूर्वतिर पर्ने कोका खोलाबाट खहरे भेल झरेपछि बराहपोखरीको आधा भाग पुरिएको स्थानीय ध्रुव गिरीले बताउनुभयो ।

तीन सय ३० मिटर लम्बाइ र दुई सय १० मिटर चौडाइ रहेको बराहपोखरीमा अहिले पनि जिमीगाउँ (सैंटार)तिरबाट वर्षामा भलपानी झर्ने गरेको छ ।

बराहपोखरीमा खहरे भेल छिरेर गेगर मात्रै थुप्रिएको छैन । पानीको सतह पनि घटेको छ ।

१९९० सालको भूकम्पका कारण बराहपोखरीको पानी घट्न थालेको डिल्लीराम गिरीले बताउनुभयो ।

२०७२ सालको भूकम्पले पनि बराहपोखरीको छेउछाउका जमिन फुटेको थियो ।

स्थानीयका अनुसार धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको चार भागमा तीन भाग पानी घटेको छ ।

कतिपयले पर्याप्त वर्षा हुन छाडेका कारण पनि पोखरीमा पानीको सतह घटेको बताउँछन् ।

बराहपोखरीमा दैनिकजसो दर्शनार्थी र पर्यटक पुग्ने गरेका छन् । 

यहाँ हरिबोधिनी एकादशी, बालाचतुर्दशी, माघे संक्रान्ती, शिवरात्रि र रामनवमीमा मेला लाग्ने गरेको छ।

बराहपोखरीको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको पहलमा आसपासमा पर्खाल, सिँढी, मन्दिर, बुद्धको मूर्तिलगायतका संरचना तयार पारिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया