४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषले गर्‍यो सम्झौता, उपचार गराउँदा लागेको रकमको २० प्रतिशत मात्र तिर्दा हुने

 चैत २४, २०७९ शुक्रबार १८:४९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सामाजिक सुरक्षा कोषले ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ ।

योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर रकम दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा कोषमा आबद्ध भएर नियमित पैसा जम्मा गरिरहेकाहरू कोषले सम्झौता गरेका अस्पतालबाट उपचार गर्दा लागेको रकमको २० प्रतिशत रकम मात्र बुझाए पुग्छ ।

अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लागेको रकमको २० प्रतिशत मात्र पैसा तिर्दा हुन्छ । कोषमा गएर पछि छुट्टै रकम दाबी गर्नुपर्ने झन्झट हुँदैन ।

नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा लिन सक्ने कोषले जानकारी दिएको छ ।

कोषले अनलाइन सम्झौता गरेका बाहेक अन्य  अस्पतालमा उपचार गर्दा योगदानकर्ताले कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर लागेको रकम दाबी गर्नुपर्ने हुन्छ । 

सम्झौता भएका ४४ अस्पताल

सामाजिक सुरक्षा कोषले कोशी प्रदेशका मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल– बिर्तामोड, झापा, बी एण्ड सी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल झापा, पशुपति मोडेल हस्पिटल इटहरी, विराटनगरका हाम्रो अस्पताल, विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल, मोरङ सहकारी अस्पतालसँग अनलाइन सम्झौता गरेको छ ।

यस्तै कोही प्रदेशकै ओखलढुङ्गा सामुदायिक अस्पताल ओखलढुङ्गा र रामलाल गोल्छा आँखा अस्पतालसँग पनि सम्झौता गरेको छ । 

यस्तै मधेश प्रदेशका नेशनल मेडिकल कलेज, वीरगन्ज हेल्थ केयर अस्पताल, गण्डक अस्पताल वीरगन्ज, स्पर्श अस्पताल, किरण आँखा अस्पताल, सर्लाहीको नमुना सामुदायिक अस्पताल हरिवन, धनुषाको जानकी हेल्थ केयर सप्तरीको छिन्नमस्ता अस्पताल राजविराज र महोत्तरीको शुभ स्वस्तिक अस्पताल बर्दिबाससँग अनलाइन सम्झौता गरेको छ । 

बाग्मती प्रदेशका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, काठमाण्डौ मेडिकल कलेज (केएमसी), ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, तिलगंगा आँखा अस्पताल, दृष्टि आई केयर, एभरेस्ट अस्पताल,  होप अस्पताल, शंकरापुर अस्पताल, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सोह्रखुट्टे, फ्रन्टलाइन हस्पिटल पुरानो बानेश्वर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान(पाटन अस्पताल), शिर मेमोरियल अस्पताल, कलेज अफ मेडिकल साइन्सेस भरतपुर चितवन, चितवन मेडिकल कलेज टिचिङ हस्पिटल, मकवानपुर सहकारी अस्पताल हेटौँडा मकवानपुर, चुरेहिल अस्पताल हेटौँडा र काठमाण्डौ क्यान्सर सेन्टर ताथली भक्तपुरसँग अनलाइन सम्झौता गरेको छ ।

गण्डकी प्रदेशको पोखरामा चरक मेमोरियल अस्पताल र ग्यालेक्सी अस्पतालसँग, लुम्बिनी प्रदेशका लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज) कोहलपुर बाँके, युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवा रुपन्देही र गौतमबद्ध मुटु अस्पताल बुटवलसँग अनलाइन सम्झौता भएको कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया