राहदानी विभागमा घट्यो भिडभाड, तोकिएको समयमा पुग्नेको एक घण्टाभित्र काम सकिने

 चैत २९, २०७९ बुधबार १६:९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राहदानी बनाउन घण्टौँ कुर्न परेको खबर र लामो लाइनको चित्र देख्नुभएका धनगढी उपमहानगरपालिकाका सदा विष्ट गएको हप्ता पालो कुर्न बिहान ६ बजे नै राहदानी विभाग पुग्नुभयो ।

तर विभाग परिसर पुग्दा उहाँको आँखाले फरक चित्र देख्यो । न विभाग छेउछाउमा लाइन थियो न त कार्यालय नै खुलेको थियो । तै पनि मनमा दुबिधा भयो । १० बजे मात्रै आउँदा पालो नआउने हो कि भन्ने डरले उहाँ विभागको गेट छेउछाउमै कुरिरहनुभयो ।

१० बजे विभागको गेट खुल्यो । संयोगवश उहाँको फारममा समय पनि बिहान कै रहेछ । यसबारेमा उहाँ बेखबर हुनुहुन्थ्यो । तर जे भयो राम्रै भयो । कार्यालय खुलेपछि राजस्व बुझाउन र बायोमेट्रिक गरेर फोटो खिच्ने काम एक घण्टा भित्रमा सकियो । 

‘भनेजस्तो गाह्रो रहेनछ, मेरो त सहजै काम भयो, मलाई त सबै कुरा ठिकै लाग्यो’ सदा भन्नुहुन्छ ‘यहाँ नआउँदासम्म त पासपोर्ट बनाउन निकै गाह्रो छ भन्ने नै लागेको थियो ।’ 

अहिले उमेरले २४ वर्ष लाग्नुभएका सदाले युरोपको सपना देख्नुभएको छ । राहदानी हात परेपछि उहाँ युरोपका कुनै देशमा रोजगारीका लागि जाने तयारीमा हुनुहुन्छ । 

पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट राहदानी बनाउन काठमाण्डौ आउनुभएका ३६ वर्षीय मणिकुमार लावतीले पनि राहदानी बनाउन खासै हैरानी खेप्न परेन । अझ उहाँलाई त १० वर्षअघि पहिलो पटक राहदानी बनाउँदाको समयमा भन्दा पनि अहिलेको सिस्टम सहज लाग्यो ।

‘पहिलाभन्दा त निकै सहज लाग्यो, सुन्न त काठमाण्डौ जाँदा पनि लाइन लाग्न पर्छ, समस्या छ भनेको सुनेको थिएँ, तर त्यस्तो सुनेकोजस्तो भएन’ मणिले भन्नुभयो ‘पहिला त कर्मचारी पनि समयमा नआउने, कहिले कता हिँड्ने, आफ्नो पालो आउने बेलामा खाजा खान हिँड्दिने समस्या थियो, अहिले त सबै कुरा ठ्याक्क समयमा हुँदो रहेछ ।’

६ वर्ष साउदीमा रोजगारी गरेर फर्कनुभएका मणिको अब भने ओमान जाने योजना छ । ओमानको प्रक्रिया थाल्नकै लागि उहाँ छिटो राहदानी बनाउन काठमाण्डौ आउनुभएको छ । 

भन्नुहुन्छ ‘त्यत्तिका वर्ष विदेश बस्दा पनि केही गर्न सकिएन, अब नेपालमै केही गरौँ न भन्दा पनि अहिले गाह्रो छ, अब विदेश नै गएर काम गर्दा त दुःख भए पनि महिनामा पैसा त हातमा पर्छ ।’

काठमाण्डौको साँखुकी मलिना खड्का पनि गएको हप्ता राहदानी नवीकरणका लागि राहदानी विभाग जानुभयो । फारम आफैँले अनलाइनबाट भरेकाले समस्या भएन । विभागमा पनि लाइन त उति सारो लाग्न परेन । मानिसको भिडभाड धेरै हुँदा अलिअलि कुर्नु सामान्य नै लाग्यो उहाँलाई । तर केही कुरामा अलमल हुँदा भने बुझ्नका लागि समस्या भयो भन्नुहुन्छ मलिना । 

‘यसो बुझ्न खोज्दा चाहिँ अलिक समस्या रहेछ, केही सोध्दा त्यही छ भन्नुहुन्छ, त्यही भनेको कहाँ कहाँ’ गुनासो गर्दै मलिना भन्नुहुन्छ ‘कर्मचारीहरूले अलिक राम्रो रेस्पोन्स गर्ने हो भने यो समस्या पनि ठुलो त होइन ।’

घट्दो राहदानी विभागको भिडभाड

पछिल्लो समय राहदानी विभागमा सेवा लिन जानेहरूले पहिलेको तुलनामा सहज र सरल रूपमा सेवा पाएको आफैँले पनि अनुभव गर्न थालेका छन् । विभागको गेटदेखि त्रिपुरेश्वर चोकसम्मै हुने लामो लाइन पनि कम भएको छ। आफ्नो आवेदनमा तोकिएको मिति र समयमा विभाग पुग्नेले बढीमा एक घण्टा भित्र काम सकाएर फर्कन सक्ने राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटा बताउनुहुन्छ ।

२०७८ सालको मङ्सिरदेखि सरकारले विद्युतीय राहदानी जारी गर्न थाल्यो । जबदेखि एमआरपीको साटो विद्युतीय राहदानी जारी हुन थाल्यो त्यसयता विभागमा राहदानी बनाउनेको भिड थेगिनसक्नुको भयो । एक त नयाँ प्रविधियुक्त राहदानी र अर्कोतर्फ नयाँ प्रणालीसमेत लागू भएकाले यसमा बानी पर्नै सेवा लिन जानेहरूलाई पनि समय लाग्यो । 

अनलाइनबाट राहदानीको फारम भरेर तोकिएको मिति र समयमा मात्र विभागमा जानु पर्ने नियमबारे जानकारीको अभावमा थुप्रैलाई सास्ती भयो । दैनिक रूपमा सयौँको सङ्ख्यामा राहदानी विभाग पुगेर रातीदेखि नै लाइन लाग्नु पर्ने परिस्थिति सृजना भयो ।

नेपालका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूबाट र विदेशस्थित नेपाली नियोगबाट राहदानी जारी भए पनि त्रिपुरेश्वरको राहदानी विभागमा राहदानी बनाउन आउनेको भिड घटेन । राहदानीको लागि अनलाइन आवेदन फारम भर्न टोकन नै नपाउने समस्या झन् बढ्यो ।

तर गएको माघ १६ गतेदेखि भने राहदानी विभागसहित देशभरका जिल्ला प्रशासन कार्यालयहरूले एक महिनासम्मको समय पाउने गरी दैनिक रूपमा टोकन खुला गर्ने व्यवस्था गर्‍यो ।

अत्यावश्यक अवस्थामा राहदानी बनाउनु पर्नेहरूले ठोस प्रमाण पेस गरेमा ३ दिनभित्रै राहदानी पाउने व्यवस्था पनि गरियो । जसको कारण जिल्लाबाटै पनि राहदानीको आवेदन फारम भर्न पाउने भएपछि काठमाण्डौ आउनेको सङ्ख्या घट्यो भन्नुहुन्छ विभागका प्रवक्ता सापकोटा ।

‘जिल्लाबाटै फारम भरेर राहदानी पाउने भएपछि अहिले भिड घटेको छ, यहाँ विभागमा पहिलेजस्तो बिहानदेखि लाइन लाग्नेहरू पनि हुनुहुन्न’ प्रवक्ता सापकोटा भन्नुहुन्छ ‘तोकिएको समयमा आउनेहरू एक घण्टा भित्र काम सकेर फर्कने वातावरण निर्माण भएको छ ।’ 

उहाँका अनुसार अहिले अलिअलि लाइन लाग्न पर्‍यो भनेर गुनासो गर्नेहरू भने तोकिएको समयमा नआएर हो । दिउँसो तीन बजेको समय हुनेहरू पनि बिहान ९ बजे नै आउने र ९ बजे नै कार्यालयमा आए पनि डिजिटल टोकनमा दिउँसोको तीन बजेको समय तोकिएपछि तीन नबज्दासम्म काम नहुँदा भने कुर्न पर्ने अवस्था छ । 

अनलाइनबाट फारम भर्दा फारमको दाहिँनेपट्टी मिति र समय लेखिएको हुन्छ । जुन समय लेखिएको छ त्यही समयमा मात्र विभागमा उपस्थित हुन्छ । फारममा लेखिएको समयभन्दा अघि काम नहुने अहिलेको अनलाइन सिस्टम छ ।

तर अझैँ पनि एक अनलाइन फारम भर्दा एक महिनापछिको मात्र समय पाउने समस्या भने कायम नै छ । त्यसलाई घटाउनका लागि विभागले योजना र छलफल गरिरहेको प्रवक्ता सापकोटा बताउनुहुन्छ ।

‘विद्युतीय राहदानी जारी हुन थालेको डेढ वर्षमा थुप्रै कुराको अनुभव भएको छ, अब बिस्तारै आफूले चाहेको समयमा राहदानी पाउने वातावरण निर्माण हुन्छ’ प्रवक्ता सापकोटाले भन्नुभयो ‘अहिले एक महिना कुर्न पर्ने परिस्थिति छ त्यसलाई काम गर्न विभाग लागि परेको छ ।’

जिल्लाबाटै पनि बायोमेट्रिक गरेको १५ देखि २० दिनभित्रमा राहदानी पाउने व्यवस्था गरिएको छ । एक महिनाभित्र त विदेशस्थित नेपाली नियोगमा नै राहदानी पठाइसक्ने गरिएको विभागले जनाएको छ ।

जिल्लाबाट राहदानी बनाउँदा समय र खर्च दुवैको बचत हुन्छ । काठमाण्डौबाट राहदानी बनाउँदा १२ हजार रुपैयाँ राजस्व तिर्न पर्छ । तर आफ्नो जिल्लाबाट आवेदन दिएर बनाउँदा पाँच हजार रुपैयाँ मात्र तिर्दा हुन्छ । 

तस्बिर : महेश ज्ञवाली ।

तपाईको प्रतिक्रिया