हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न फलफूलको भूमिका महत्त्वपूर्ण हुन्छ, तर जुनसुकै समयमा जुन कुनै फलफूल खानुभन्दा मौसम अनुसारका फलफूल छनोट गर्नु धेरै बुद्धिमानी मानिन्छ । विशेष गरी आ–आफ्नो प्राकृतिक मौसममा फल्ने फलफूलले शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्त्व, भिटामिन, खनिज पदार्थ र रेसाहरू उचित मात्रामा प्रदान गर्दछन् । यसको विपरीत, बेमौसमी फलफूललाई लामो समयसम्म भण्डारण गरेर राख्नुपर्ने भएकाले त्यसमा विभिन्न प्रकारका रसायन वा रसायनहरूको प्रयोग गरिएको हुन सक्छ । यस्ता फलफूलबाट हाम्रो शरीरले पाउनुपर्ने सही पोषण प्राप्त गर्न सक्दैन । प्राकृतिक रूपमै पोषक तत्त्वहरू पूर्ण रूपमा पाउनका लागि मौसमअनुसारकै फलफूल खानुपर्छ ।
अहिलेको मौसममा बजारमा आँप, केरा, लिची, आरु र आलुबखडाजस्ता फलफूलहरू प्रशस्त मात्रामा पाइन्छन् । यी फलफूलहरूमा विशेष गरी भिटामिन ‘ए’ र भिटामिन ‘सी’ जस्ता शक्तिशाली पोषक तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन् । भिटामिन ‘सी’ ले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाएर रोगहरूसँग लड्न मद्दत गर्दछ । मौसम परिवर्तन हुने समयमा भाइरल ज्वरो, रुघाखोकी र विभिन्न किसिमका सङ्क्रमणहरू फैलिने डर बढी हुने भएकाले यति बेला मौसमी फलफूलको सेवन झनै लाभदायक हुन्छ । स्वस्थ रहनका लागि दिनमा कम्तीमा दुईवटा मौसमी फलफूल खाने लक्ष्य राख्नुपर्छ । बजारबाट ल्याएका फलफूललाई राम्रोसँग पखालेर, सुरक्षित र सफा ठाउँमा भण्डारण गरेर मात्र उपभोग गर्दा स्वास्थ्यसम्बन्धी समस्याहरूबाट जोगिँदै फलफूलको अधिकतम फाइदा लिन सकिन्छ ।
सामान्यतया स्वस्थ मानिसले दिनमा कति मात्रामा फलफूल खानुपर्छ भन्ने कुरामा विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मापदण्डहरू फरक–फरक पाइन्छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वस्थ व्यक्तिले दैनिक दुईदेखि तीन मात्रा फलफूल खानु आवश्यक हुन्छ । यद्यपि नेपालको आफ्नै छुट्टै मापदण्ड नभए पनि छिमेकी देश भारतको नयाँ निर्देशिकाले दिनमा कम्तीमा एक मात्रा फलफूल अनिवार्य खान सल्लाह दिन्छ । यी दुवै कुरालाई मिलाएर हेर्दा दैनिक खानपानमा एकदेखि दुईवटा मध्यम खालका विभिन्न प्रकारका फलफूल समावेश गर्नु उपयुक्त हुन्छ । तर यो मात्रा सबैका लागि एकैनास भने हुँदैन । मधुमेह, मिर्गौला रोग वा अन्य दीर्घकालीन समस्या भएका व्यक्तिहरूले फलफूलको मात्रा र छनोटमा विशेष ध्यान दिनुपर्छ । उदाहरणका लागि– मधुमेह नियन्त्रणमा नभएका बिरामीहरूले दिनमा १०० ग्रामभन्दा धेरै आँप खानु हुँदैन । स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुराले नै फलफूलको मात्रा निर्धारण गर्छ ।
फलफूलको आकार र प्रकारअनुसार त्यसको मात्रा पनि फरक पर्ने गर्छ । जस्तै– एउटा मध्यम आकारको स्याउ झन्डै १५० देखि २०० ग्रामसम्मको हुन्छ । बजारमा पाइने फलफूलहरूमा पकाउन वा लामो समयसम्म टिकाउनका लागि विषादी र रसायनको प्रयोग गर्ने जोखिम सधैँ रहन्छ । यसका साथै वर्षाको समयमा सरसफाइको कमी र पानीका कारण फलफूलमा विभिन्न किसिमका कीटाणुहरूको सङ्क्रमण हुने सम्भावना पनि धेर हुन्छ । यस्तो जोखिमबाट बच्नका लागि उपभोक्ताहरू सजग हुन जरुरी छ । बोक्रा भएका फलफूलहरू ताछेर खान सकिने भए पनि बोक्रैसहित खाइने आरु, आलुबखडा वा अन्य फलफूलहरूलाई खानुअघि कम्तीमा २० देखि ३० मिनेटसम्म पानीमा भिजाएर राख्नुपर्छ । यसरी केही समय पानीमा भिजाएर बगेको सफा पानीमा पखाल्दा त्यसमा भएका रासायनिक तत्त्व र कीटाणुहरू धेरै हदसम्म बाहिर निस्कन्छन् ।
(पोषणविद् प्रकृति विष्टसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)