खोला किनारबाट हटाइएका सुकुम्वासीको अस्थायी बस्तीको छेउबाट एउटा मोटरसाइकल बिस्तारै अघि बढिरहेको छ । सडकमा हिलो, आकाशमा बादल, बस्तीमा निराशा ।
मोटरसाइकल चलाइरहेका छन्, राइड–सेयर गरेर घर चलाउने एक युवा । पछाडि बसेका छन्, केही दिनमै वैदेशिक रोजगारीका लागि उड्न लागेका अर्का युवा ।
सुकुम्वासी बस्तीका बालबालिका भिजेको लुगा र कापी किताब सुकाउँदै छन् । एक वृद्धा कालो भाँडो पखालिरहेकी छन् । मोटरसाइकलमा रहेका दुई युवा कुरा गर्दैछन् ।
‘दाइ, यिनलाई त बाढीबाट जोगाउन भनेर यहाँ ल्याएको होइन ?’
‘हो, बाढीले सरकारको कुरा मानेनछ । अहिले फेरि अर्को सुरक्षित ठाउँमा लैजान खोज्दै रहेछन् ।’
‘काठमाण्डौमा गरिबहरू प्रायः यसरी नै हाँस्छन्—आँखा रसाएका हुन्छन्, ओठ मात्रै हाँसिरहेका हुन्छन् ।’
त्यही बेला राइड सेयर गर्ने युवाको मोबाइलमा मोटरसाइकलको किस्ता तिर्न भन्दै म्यासेज आयो ।
‘दुई महिनाको किस्ता तिर्न बाँकी छ । पेट्रोलको मूल्य बढेको । कोठा भाडा बढेको छ । दाल, चामल, तरकारी सबै बढेको छ ।’
‘तर एउटा कुरा भने घटेको छैन—सरकारको जरिवाना उठाउने उत्साह । लाग्छ, अर्थतन्त्रको सबैभन्दा भरपर्दो स्रोत अहिले गरिबको खल्ती नै हो । जहाँ पैसा भेटिन्छ, त्यहीँ राज्यको हात पुग्छ । जहाँ पीडा भेटिन्छ, त्यहाँ राज्यको आँखा पुग्दैन ।’
‘दाइ, नियम त मान्नुपर्छ नि ।’
‘हो, मान्नुपर्छ । तर एउटा कुरा भन्नुस् त के यात्रु चढाउने ठाउँ बनाइदिएको छ ?’
‘राइड–सेयरका लागि छुट्टै लेन छ ?’
‘छैन ।’
‘पार्किङ छ ?’
‘छैन ।’
‘अनि ?
‘जरिवाना चाहिँ छ । देशमा धेरै कुरा अभावको छ । तर जरिवाना र भाषणमा कहिल्यै अभाव पर्दैन ।’
अनि गणेश नेपालीको कुरा निस्कियो । मोटरसाइकल पछाडि बस्नेले लामो सास फेर्दै भन्यो, ‘बाँच्न नसकेर मरे कि, बाँच्न खोज्दा मरे ?’
‘मलाई लाग्छ, उनी मर्न खोजेका थिएनन् । उनी त राज्यलाई देखाउन खोज्दै थिए—म पनि छु भनेर । किनकि यो देशमा नागरिक देखिन शरीरमा आगो नै बाल्नुपर्ने रहेछ ।’
‘यसपछि नै त राज्य अचानक संवेदनशील बन्छ । मन्त्री अस्पताल पुग्छन् । क्यामेरा पुग्छ । माइक्रोफोन पुग्छ । सहानुभूतिको प्रेस विज्ञप्ति पुग्छ ।’
‘उपचार खर्च सरकारले बेहोर्छ । परिवारलाई राहत मिल्छ । रोजगारीको व्यवस्था हुन्छ ।’
‘जिउँदै हुँदा हजार रुपैयाँको जरिवाना तिर्न नसक्ने नागरिकका लागि मर्न लागेपछि लाखौँ रुपैयाँको उपचार घोषणा हुन्छ ।’
‘यो करुणा हो कि प्रशासनिक विडम्बना ?’
‘कहिलेकाहीँ लाग्छ, सरकारले एउटा नयाँ सेवा शुरु गरेको छ—जीवनभर बेवास्ता, मृत्युशय्यामा विशेष सेवा ।’
‘यदि नागरिकलाई राहत दिनै सकिन्थ्यो भने त्यो राहत अस्पतालको बेड कुरेर किन आयो ? यदि रोजगारी दिनै सकिन्थ्यो भने मृत्युको खबरपछि मात्रै किन सम्झना आयो ? यदि नागरिकको समस्या सुन्नै सकिन्थ्यो भने उसको चिच्याहटभन्दा आगोको ज्वाला ठूलो हुनै किन पर्यो ?’
मोटरसाइकल पछाडि बस्ने युवाले लामो सास फेर्दै भन्यो, ‘म पनि त्यही बाटोमा थिएँ दाइ । एमएसी पढ्न ऋण लिएँ । डिग्री आयो, तर जागिर आएन । बैङ्कले ब्याज माग्यो । देशले धैर्य माग्यो । पेटले खाना माग्यो । अन्तिममा पासपोर्टले विदेश माग्यो ।’
‘देशले युवालाई दुई वटा मात्रै विकल्प दिएको छ । कि विदेश जाऊ, कि निराश भएर बस ।’
‘तेस्रो विकल्प माग्न जाऊँ भने बोल्न पाइँदैन ।’
‘त्यही त । बोल्न पनि पाइँदैन ।’
‘पार्किङ पाइँदैन ।’
‘रोजगारी पाइँदैन ।’
‘अस्पतालमा सस्तो उपचार पाइँदैन ।’
‘सरकारी कार्यालयमा समयमै सेवा पाइँदैन ।’
‘शिक्षा सस्तो पाइँदैन ।’
‘घर पाइँदैन ।’
‘सुरक्षित बसोबास पाइँदैन ।’
‘प्रश्न गर्न पाइँदैन ।’
‘आन्दोलन गर्न गयो भने धरपकड र पक्राउ ।’
‘सडकमा उभियो— हट । बोल्यो— थुन । करायो— मुद्दा ।’
‘त्यसो भए यो देशमा पाइन्छ चाहिँ के ?’
‘पाइन्छ नि । कर पाइन्छ । जरिवाना पाइन्छ । लाइन पाइन्छ । आश्वासन पाइन्छ । समिति पाइन्छ । छानबिन पाइन्छ । भाषण पाइन्छ ।’
‘यी विस्थापित नागरिकलाई हेरौँ न । उनीहरूलाई खोला किनारबाट हटाइयो । बाढीबाट बचाउन भन्दै यहाँ ल्याइयो । बाढी यहाँ पनि आयो । अब फेरि सार्ने रे ।’
‘सरकारसँग एउटा अद्भुत योजना छ— गरिबको समस्या कहिल्यै समाधान नगर्ने, ठाउँ मात्रै परिवर्तन गर्ने ।’
‘दाइ, कहिलेकाहीँ साँच्चै लाग्छ, गणेशले जस्तै हार मानेर.........’
‘त्यो कुरा फेरि नदोहोर्याउँ, त्यसरी मर्दा सबैभन्दा सजिलो कसलाई हुन्छ थाहा छ ? राज्यलाई । एउटा प्रश्न गर्ने मान्छे कम हुन्छ । अर्को सजिलो विपक्षलाई, एउटा नारा थपिन्छ । अनि सामाजिक सञ्जाललाई पनि फाइदा हुन्छ, दुई दिन ट्रेन्ड चल्छ । तर, आमाको भान्सामा एउटा थाल खाली हुन्छ । बुवाको आँखामा निद्रा हराउँछ । श्रीमतीको सिन्दूर सुक्छ । छोराछोरीको भविष्य टुहुरो हुन्छ ।’
‘हो, गणेशको मृत्युले राज्यलाई प्रश्न गरेको छ, उत्तर दिएको छैन ।’
‘उत्तर आत्मदाह होइन ।’
‘यदि मृत्यु नै समाधान हुन्थ्यो भने संसारका सबै अन्याय धेरै पहिल्यै सकिइसक्थे । समाधान भनेको जिउँदै प्रश्न गर्नु हो । जिउँदै प्रतिरोध गर्नु हो । जिउँदै राज्यलाई झकझक्याउनु हो ।’
मोटरसाइकल डुबानग्रस्त बस्ती पार गरेर अगाडि बढ्छ । पछाडि त्रिपाल हल्लिरहेको छ ।
अगाडि अध्यागमन कार्यालयतर्फ जाने बाटो छ । देशभित्र बस्न नसकेर एक जना विदेशतिर जाँदैछ । देशभित्रै बसेर अर्कोले सङ्घर्ष गरिरहेको छ ।
दुवैसँग एउटा साझा प्रश्न छ— यो देशमा आखिर पाइन्छ चाहिँ के ?
उत्तर हावामा हराएको छ । तर अन्तिम वाक्य भने दुवैको एउटै छ, ‘जिन्दगीले धेरै पटक हराउँछ । राज्यले पनि । तर हामी मर्ने होइन । बाँचेरै प्रश्न गर्ने हो । किनकि जिउँदा नागरिकसँग मात्रै व्यवस्था डराउँछ, चिहानसँग होइन ।’