नेभिगेशन

सिङ्गापुरमा ब्लूमबर्गले महत्त्वपूर्ण मानहानिको मुद्दा हार्‍याे

३ लाख ५६ हजार अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश

सिङ्गापुरको अदालतले ब्लूमबर्गलाई मानहानिको मुद्दामा दुई जना मन्त्रीलाई क्षतिपूर्तिस्वरूप ३ लाख ५६ हजार अमेरिकी डलर तिर्न आदेश दिएको छ । सिङ्गापुरको उच्च अदालतले ब्लुमबर्ग र उसका एक जना पत्रकारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको बीबीसीले जनाएको छ ।

सिङ्गापुरका मन्त्रीहरू के शानमुगम र टान सी लेङले सन् २०२४ को एउटा लेखका लागि ब्लूमबर्ग र पत्रकार लो डे वेईविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।

उच्च अदालतकी न्यायाधीश अड्री लिमले ब्लूमबर्गको लेख द्वेषपूर्ण भावनाले भरिएको र दुवै दाबीकर्ताको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले तयार पारिएको फैसला सुनाउनुभयो ।

दुई जना मन्त्रीले आफ्नो सम्पत्तिसम्बन्धी कारोबारबारे उल्लेख गरिएको एउटा लेखका कारण मानहानिको मुद्दा दायर गर्नुभएको थियो ।

ब्लूमबर्गले यस फैसलामाथि कुनै टिप्पणी गरेको छैन । ब्लूमबर्ग अमेरिकाको एक अग्रणी वित्तीय, सफ्टवेयर, तथ्याङ्क तथा सञ्चारमाध्यम कम्पनी हो ।

ब्लूमबर्गले ‘सिङ्गापुरमा ठूला आलिसान घरको कारोबार बढ्दो रूपमा गोप्यताको घेरामा’ शीर्षकको लेख छापेको थियो । लेखमा दुई जना मन्त्रीले ‘ट्रस्ट’ को प्रयोग गरी नाम नखुलेका एक खरिदकर्तालाई ६ करोड ८० लाख डलरमा एउटा बङ्गला बिक्री गरेको कुरा उल्लेख छ ।

प्रकाशित मिति:
थप विश्व