नेभिगेशन

मधेशबाहेक अरू प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ — वर्षा गराउने प्रणाली विस्तारै पश्चिमी भूभागतर्फ केन्द्रित भएको मौसम पूर्वानुमान महाशाखाले छ ।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने देशका सबैजसो ठाउँमा बदली भएको छ । महाशाखाका अनुसार गएराति देशका धेरैजसो ठाउँमा वर्षा भए पनि बिहानीपख धेरै ठाउँमा वर्षा रोकिएको छ । दिउँसो भने धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यी क्षेत्रका नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा वर्षासँगै हावाहुरी चल्ने सम्भावना पनि रहेकाले कमजोर संरचना, खेतीपाती र दैनिक जनजीवनमा असर पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि पनि मनसुनको प्रभाव कायमै रहनेछ । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज