नेभिगेशन

बन्दुक नियन्त्रणका लागि थप कडा कानुन बनाउने थाइल्यान्डका प्रधानमन्त्रीको घोषणा

थाइल्यान्डका प्रधानमन्त्री अनुत्तिन चर्णवीराकुलले बन्दुक नियन्त्रणका लागि थप कडा कानुन बनाउने घोषणा गर्नुभएको छ । हिजो राजधानी बैंककको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा गोली चलाउने किशोरसहित ८ जनाको ज्यान गएपछि प्रधानमन्त्रीले बन्दुक नियन्त्रणसम्बन्धी कानुनलाई थप कडा बनाउने घोषणा गर्नुभएको हो ।

गोलीकाण्डपछि त्यहाँका प्रतिपक्षी नेताले देशको बन्दुक नियन्त्रणबारेका उपायमा पुनरावलोकन गर्न आह्वान समेत गरेका थिए । प्रधानमन्त्री अनुत्तिनले सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने र ड्युटीमा रहेका सरकारी अधिकारीलाई मात्र हतियार बोक्न अनुमति दिने गरी नयाँ कानुन ल्याउने बताएको बीबीसीले जनाएको छ ।

हिजो भएको घटनामा १४ वर्षीय किशोरले आफू बस्दै आएको घरमा आफ्ना हजुरबुबा र हजुरआमाको हत्या गरेपछि नोनथाबुरीको देब्सिरिन स्कुल पुगेका थिए । त्यहाँ पुगेर उनले पाँच शिक्षकसहित अन्य व्यक्तिमाथि गोली चलाएका थिए ।

यो आक्रमणपछि ती किशोरले आफैंलाई पनि गोली हानेका थिए । थाई प्रधानमन्त्रीले यस्ता घटना हुनै नहुने भन्दै पीडित परिवारमा दुःख व्यक्त गर्नुभएको छ ।

थाइल्यान्ड दक्षिण–पूर्वी एसियामा नागरिकको हातमा ठूलो संख्यामा बन्दुक रहेको देशमध्ये एक हो । त्यहाँ झण्डै एक करोड ३ लाख बन्दुक नागरिकको स्वामित्वमा रहेको अनुमान छ ।
 

प्रकाशित मिति:
थप विश्व