नेभिगेशन

आउँदाे वर्ष ताइवानकाे रक्षा बजेट १६ प्रतिशतले बढ्न सक्ने

ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार मन्त्रिपरिषद्ले सन् २०२७ का लागि रक्षा बजेट १६ प्रतिशतले बढाउने तयारी गरेको हो ।

याे प्रस्ताव पारित भएमा ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक १ ट्रिलियन ताइवानी डलर नाघ्नेछ । यो बजेट ताइवानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३ प्रतिशतभन्दा धेरै हुनेछ ।

लोकतान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो भू–भाग मान्ने चीनले आफ्नो दाबी स्थापित गर्न विगत केही वर्षयता सैन्य तथा राजनीतिक दबाव बढाउँदै लगेको छ । ताइवानले भने चीनको यस्तो दाबीलाई अस्वीकार गर्दै आएको छ ।

पछिल्लो समय अमेरिकाले ताइवानलाई आफ्नै प्रतिरक्षामा धेरै खर्च गर्न आग्रह गरिरहेको छ र राष्ट्रपति लाई चिङ–तेले यसलाई उत्साहपूर्वक स्वीकार गर्नुभएको छ ।

यही अगस्ट २० मा सार्वजनिक हुने बजेटमा तटीय सुरक्षा बल, पूर्वसैनिक र विशेष परियोजनाहरूका लागि रकम समावेश रहेको खबरमा उल्लेख छ ।

चीनबाट सम्भावित बढ्दो खतरालाई मध्यनजर गर्दै ताइवान सरकारले सैन्य आधुनिकीकरणलाई आफ्नो प्रमुख नीतिगत प्राथमिकता बनाएको छ र देशमै निर्मित पनडुब्बीको विकासलगायत रक्षा क्षेत्रमा थप खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

चीनको सेनाले ताइवानको वरिपरि झन्डै दैनिक रूपमा गतिविधि सञ्चालन गर्छ र समय–समयमा सैन्य अभ्यासहरू गर्दछ ।

चीनले नयाँ विमानवाहक जहाज, स्टेल्थ लडाकु विमान र क्षेप्यास्त्रहरूसहित आफ्ना सशस्त्र बलहरूलाई पनि तीव्र गतिमा आधुनिकीकरण गरिरहेको छ ।

मार्च महिनामा चीनले यस वर्षको रक्षा बजेटमा ७ प्रतिशतले वृद्धि गरेर १.९१ ट्रिलियन युआन पुर्‍याएको घोषणा गरेको थियो ।

चीनले ताइवानी राष्ट्रपतिलाई ‘पृथकतावादी’ भन्दै उहाँसँग वार्ता गर्न अस्वीकार गरेको छ । ताइवान अहिले आफ्नो वार्षिक ‘हान कुआङ’ सैन्य अभ्यासका क्रममा छ ।

प्रकाशित मिति:
थप विश्व