नेभिगेशन

सामाजिक सञ्जालमार्फत बन्दुक चलाउन सिकेपछि...

थाइल्यान्डमा आफ्नै घर र विद्यालयमा गोली चलाएर ८ जनाको ज्यान लिई आत्महत्या गर्ने एक किशोरले सामाजिक सञ्जालमार्फत आफैँले बन्दुक चलाउन सिकेका प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा हिंसात्मक सामग्रीको उपभोग, पढाइ तथा पारिवारिक समस्यालाई लिएर भएको चिन्ता र साथीहरूसँगको विवादले पनि ती किशोरको गतिविधिलाई बढावा दिएको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

ती १४ वर्षीय किशोरको उद्देश्यबारे अनुसन्धान गर्ने क्रममा आफूहरूले अहिलेसम्म १७ जना प्रत्यक्षदर्शीसँग सोधपुछ गरिसकेको वरिष्ठ प्रहरी अधिकारी अथापोल अनुसितले बताउनुभएको बीबीसीले जनाएको छ ।

वर्षाैँयताकै सबैभन्दा घातक गोलीकाण्डको चपेटामा परेको थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले बन्दुकसम्बन्धी नयाँ कानून ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । गएको शुक्रवार राजधानी बैंकको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा अरू २२ जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार ‘देब्सिरिन नन्थाबुरी स्कुल’ का ती विद्यार्थीले घरमा हजुरबुबाको पेस्तोल प्रयोग गरी हजुरबुबा–हजुरआमाको गोली हानी हत्या गरेपछि विद्यालय पुगेर शिक्षक तथा विद्यार्थीहरूमाथि गोली चलाएका थिए ।

देब्सिरिन विद्यालय थाइल्यान्डका विभिन्न ठाउँमा शाखा रहेको र देशको प्रतिष्ठित शैक्षिक संस्था हो ।

अधिकारीहरूका अनुसार आमाबुवा अलग भएकाले ती किशोर २ वर्षको उमेरदेखि नै हजुरबुबा–हजुरआमासँग बस्दै आएका थिए ।

यसअघि सन् २०२२ मा बन्दुक र चक्कु लिएर देशको उत्तरमा रहेको नर्सरीमा प्रवेश गरेका एक जना पूर्वप्रहरी अधिकारीले २४ जना बालबालिका र १२ जना वयस्कको हत्या गरेका थिए । यो घटना थाइल्यान्डको सबैभन्दा घातक नरसंहारमध्ये एक थियो ।

प्रकाशित मिति:
थप विश्व