नेभिगेशन

सिरियाका पूर्वराष्ट्रपति असदलाई मृत्युदण्डको सजाय

सिरियाली अदालतले अपदस्थ तानाशाही राष्ट्रपति बसर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ । युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले उहाँलाई मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ ।

अहिले असद सिरियामा हुनुहुन्न । सिरियाका नयाँ अधिकारीहरूले रुसबाट असदको सुपुर्दगी सुनिश्चित गर्न सक्लान् वा नसक्लान् भन्ने स्पष्ट छैन ।

सन् २०२४ को डिसेम्बरमा असद सरकार सत्ताबाट हटाइएपछि उहाँ आफ्नो परिवारसहित राजधानी दमास्कसबाट रुसको मस्कोतर्फ भाग्नुभएको थियो । यससँगै ५ दशकसम्म चलेको असद परिवारको शासनको अन्त्य भएकाे थियाे ।

यस्तै युद्ध अपराध र मानवताविरुद्धको अपराधमा अदालतले असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तका राजनीतिक सुरक्षा विभागका पूर्वप्रमुख आतिफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाएको खबरमा उल्लेख छ ।

दारालाई असद शासनविरुद्धको विद्रोह शुरू भएको ठाउँ मानिन्छ ।

सन् २०११ को मार्चमा सरकारविरोधी नारा लेखेको आरोपमा केही किशोरहरूलाई नियन्त्रणमा लिई यातना दिइएपछि दारा शहरमा विरोध प्रदर्शनहरू शुरू भएका थिए ।

सुरक्षा फौजले विरोध प्रदर्शनहरूविरुद्ध हिंसात्मक कारबाही गर्‍याे । यस दमनपछि सिरियाभरि विरोध प्रदर्शनहरू चर्किए र अन्ततः तिनले गृहयुद्धको रूप लिँदा हजारौँ मानिसले ज्यान गुमाए ।

यस वर्षको शुरूमा सिरियाको अन्तरिम सरकारले असद शासनसँग जोडिएका अधिकारीहरूविरुद्ध कानूनी कारबाही अघि बढाएको थियो ।

सिरियाको नयाँ नेतृत्वले असदविरुद्ध गरेको यो पहिलो कारबाही होइन । हत्या र यातनाको आरोपमा गएको डिसेम्बरमा उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

प्रकाशित मिति:
थप विश्व