नेभिगेशन
सोमबार, असोज १२, २०८३

जब उडिरहेको विमान अचानक ३०० फिट तल खस्यो...

गएको हप्ता आकाशमा उडिरहेको एअर इन्डियाको एउटा विमान अचानक झन्डै ३०० फिट तल खसेपछि एक पाइलटमाथि अनुसन्धान भइरहेको छ ।

यही अगस्ट महिनाको ४ तारिखमा थाइल्यान्डको फुकेटबाट दिल्लीतर्फ गइरहेको एअरबस ए–३२० विमानमा १३७ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । यो घटनामा २० जना यात्रु र चालक दलका ४ जना सदस्य घाइते भएका थिए ।

यसैबीच दोस्रो पटकको लागूऔषध परीक्षणमा विमानका पाइलटकाे रिपाेर्ट पोजिटिभ देखिएकाे बीबीसी हिन्दीले जनाएको छ ।

नागरिक उड्डयनमन्त्री राम मोहन नायडुले विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले यस विषयमा अनुसन्धान गरिरहेको र अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि मात्र आफूले यसबारे केही भन्न सक्ने बताउनुभएको छ ।

मन्त्री नायडुले यो विषय लागूऔषधको प्रयोगसँग जोडिएको र विद्यमान नियमहरूमा कुनै किसिमको हेरफेर वा गडबडी गरिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिनुभयो ।

एउआईबीले यस घटनासँग सम्बन्धित सबै सान्दर्भिक प्राविधिक, सञ्चालनगत, चिकित्सा र मानवीय पक्षहरूसँग जोडिएका प्रमाणहरूको जाँच गरिरहेको छ ।

यसैबीच हिजो नागरिक उड्डयन मन्त्रालयले फुकेट–दिल्ली उडानसँग सम्बन्धित घटनाका सन्दर्भमा सोधपुछका लागि एअर इन्डियाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्याम्पबेल विल्सनलाई बोलाएको थियो ।

सञ्चारमाध्यमका अनुसार उडान एआई २३७९ का मुख्य पाइलटको पुनः लागूऔषध परीक्षण हुनेछ । ती पाइलटको प्रारम्भिक परीक्षणको नतिजा नन–नेगेटिभ आएको थियो; यो एक प्रारम्भिक द्रूत परीक्षण हो र यसको नतिजालाई अन्तिम वा निश्चित मानिँदैन ।

प्रकाशित मिति:
थप विश्व