नेभिगेशन

तातोपानी नाका जोड्ने सडकको इको खण्ड अस्थायी रूपमा खुल्यो

काठमाण्डौ — पहिरोले अवरुद्ध कोदारी राजमार्ग डेढ महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ ।

गएको असार ३१ गतेदेखि यो खण्ड बन्द थियो । सडक डिभिजन कार्यालय चरिकोट दोलखाले १० दिन लगाएर नयाँ ट्र्याक निर्माण गरेको हो । डाक्लाङमा सडक भासिएपछि सडक डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ ।

भोटेकोशी गाउँपालिका–२ कोदारीको इको क्षेत्रमा गएको असार ३१ गते पहिरोसँगै सडक भासिएको थियो । सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सडकमा गाडी गुड्न थालेका हुन् ।

सडक खुलाउन टिपर र ठूला मेसिन परिचालन गरिएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसेबाट लिपिङ बसपार्कसम्म गाडी आवतजावत गर्ने अवस्था बनेको छ । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सडकलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ ।

लिपिङमा काम सकिएलगत्तै चीनसम्मको सीमा क्षेत्रमा यातायात पूर्ण रूपमा चल्ने उहाँको भनाइ छ । लिपिङमा पहिरोले सडकमुनिको जमिन बगाएको र भोटेकोशी नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ ।

नयाँ ट्र्याकमार्फत सडक सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो । अन्तर्राष्ट्रिय राजमार्ग झन्डै डेढ महिना बन्द हुँदा आफूहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको उहाँको गुनासो छ । लिपिङपारि झन्डै ८५ कन्टेनर अझै अलपत्र छन् ।

पानी पर्न कम भएपछि बाँकी अवरोध पनि हट्ने र मुख्य चाडपर्व दशैँ तिहारका लागि सामान आयात गर्न सहज हुने व्यवसायीको विश्वास छ । इकोमा सडक खुले पनि लिपिङको समस्या समाधान नभएसम्म नाका सहज रूपमा सञ्चालन हुन नसक्ने भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताउनुभएको छ ।

प्रकाशित मिति:
थप सडक र सवारी