नेभिगेशन
बिहीबार, असोज १, २०८३

हिमनदी र हिमचट्टान खस्दा आकस्मिक जलप्रवाहका कारण भोटेकोशीमा बाढी

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको विनाशकारी बाढी सामान्य वर्षाजन्य बाढी नभएको प्रारम्भिक अध्ययनले देखाएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययनअनुसार बाढीको मुख्य कारण हिमनदी र हिमचट्टान खस्नु तथा त्यसबाट उत्पन्न आकस्मिक जलप्रवाह रहेको पाइएको छ ।

अप्रत्याशित विनाशकारी बाढीको कारण

स्याटेलाइट तस्वीरको अध्ययन गर्दा हिमचट्टान पहिरो गएकाे देखिएको छ । त्यसपछि ठूलो परिमाणमा बरफ, चट्टान र डेब्रिज अर्थात् चट्टान र गेग्रानसहितकाे थुप्राे तल रहेको डेब्रिजले ढाकिएको हिमनदीमा ठोक्किँदा पानीसहितको ठूलो प्रवाह उत्पन्न भएको थियो । त्यो प्रवाह लाङटाङ लिरुङ हिमालको मुनिबाट बग्ने खोजिन खोलामा मिसिएर ल्हेन्दे नदी हुँदै भोटेकोशीमा पुगेको देखिन्छ । स्याटेलाइट तस्वीरको विश्लेषणबाट झन्डै २ वर्ग किलोमिटर क्षेत्रफल बराबरको हिमनदीको ठूलो भाग छुट्टिएको अनुमान गरिएको छ । यस घटनाका क्रममा तत्कालै खोजिन खोला तथा ल्हेन्दे–खोजिन खोलाको तल्लो क्षेत्रमा दुई वटा प्राकृतिक तालसमेत बनेका थिए । ती ताल अहिले भने खाली भइसकेका छन् । यद्यपि याे क्षेत्र अस्थिर रहेकाले निरन्तर निगरानी आवश्यक छ ।

पूर्वानुमान गर्न कठिन

हिमनदी र हिमचट्टान खस्दा आउने आकस्मिक बाढीको पूर्वानुमान गर्न निकै कठिन हुन्छ । यस्ताे अवस्थामा बाढी आउनुअघि नै ठ्याक्कै समय र ठाउँ पहिचान गरी पूर्वसूचना दिन सहज हुँदैन । यद्यपि रसुवागढीको जलमापन केन्द्रको सेन्सर बग्ने अवस्थासँगै घटना भएको सूचना प्राप्त भएपछि तत्काल तल्लो तटीय क्षेत्रमा सूचना सम्प्रेषण गरिएको थियो । बाढीको गति अत्यन्त तीव्र भएकाले केही क्षेत्रमा सूचना पुग्नुअघि नै क्षति भइसकेको भए पनि तलतिर समयमै सूचना पुगेका क्षेत्रमा मानवीय क्षति कम गर्न सहयोग पुगेको हो ।

जलमापन केन्द्रका संरचना पनि जोखिममा

भोटेकोशी बाढीका क्रममा जलमापन केन्द्रलगायतका संरचना बग्नुका कारण पनि बाढीको असाधारण प्रकृति नै देखिन्छ । सामान्य वर्षाजन्य बाढीलाई ध्यानमा राखेर जलमापन केन्द्रका संरचना निर्माण गर्दा नदीको किनारबाट पर्याप्त दूरी र ‘फ्रिबोर्ड’ अर्थात् पानीको सतहभन्दा सुरक्षित उचाइ राख्ने गरिएको हुन्छ । तर भोटेकोशीमा आएको जस्तो अत्यन्तै दुर्लभ र तीव्र बाढीका लागि ती संरचनाको उचाइ पर्याप्त हुँदैन । यस्तो किसिमको बाढीका लागि कल्पना गरेर संरचना निर्माण गरिएको होइन ।

अझै जोखिम कायमै

अध्ययनले माथिल्लो क्षेत्रमा बनेका दुई वटा प्राकृतिक तालका कारण भविष्यमा थप आकस्मिक बाढीको जोखिम रहन सक्ने देखाएको छ । अहिले ती ताल खाली भए पनि भू–भाग अस्थिर रहेकाले पहिरो खसेर फेरि नदी थुनिन सक्ने र त्यसबाट नयाँ ताल बन्न सक्ने जोखिम भने कायमै छ । त्यसरी बनेको तालमा पानीको मात्रा बढ्दै गएर प्राकृतिक बाँधले थेग्न नसकेमा बाँध फुटेर पुनः आकस्मिक बाढी आउन सक्छ । त्यसैले त्यो क्षेत्रलाई निरन्तर निगरानीमा राख्नुपर्ने आवश्यकता रहन्छ । अहिले त्यहाँ सेन्सरहरू नभएकाले स्याटेलाइट तस्वीरमार्फत नियमित निगरानी गर्नुपर्ने अवस्था छ ।

हिमाली जोखिम न्यूनीकरणमा लगानी आवश्यक

नेपालका हिमाली क्षेत्रमा हिमतालको सङ्ख्या तथा आकार बढ्दै जानु र हिमनदी पग्लिँदै जानुका कारण भविष्यमा यस्ता घटनाको जोखिम बढ्न सक्छ । त्यसैले हिमताल फुटेर हुन सक्ने क्षति न्यूनीकरणका लागि जोखिमयुक्त हिमतालको जलसतह घटाउनेलगायतका उपाय अपनाउनुपर्ने आवश्यकता छ । त्यसैगरी हिमताल, हिमनदी भएका क्षेत्रलाई स्याटेलाइटबाट निरन्तर निगरानी गर्ने प्रणाली विकास गर्नुपर्ने देखिन्छ । विशेषगरी जमिनको ‘डिस्प्लेसमेन्ट’ अर्थात् स्थान परिवर्तन र ‘डिफर्मेसन’ अर्थात् भू–आकृतिमा आउने परिवर्तन पहिचान गर्न सकिने प्रविधि तथा उपकरण विकास गर्नुपर्ने देखिन्छ । त्यस्ता परिवर्तनको नियमित निगरानीबाट कुनै क्षेत्र जोखिमपूर्ण बन्दै गएको प्रारम्भिक सङ्केत पहिचान गर्न सकिन्छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिँदै गएको परिवर्तन र हिमताल तथा हिमनदीसँग सम्बन्धित जोखिमलाई ध्यानमा राख्दै नेपालले पूर्वसूचना प्रणाली, स्याटेलाइट निगरानी र जोखिमयुक्त क्षेत्रमा वैज्ञानिक अध्ययनमा लगानी बढाउनुपर्ने अहिलेको आवश्यकता हो ।

(अध्ययनमा संलग्न जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ डिभिजनल हाइड्रोलोजिस्ट तथा हिमविज्ञान तथा हिमताल शाखाका प्रमुख तुलाधरसँगकाे कुराकानीमा आधारित)

प्रकाशित मिति:
थप विचार