नेभिगेशन
सोमबार, असोज ५, २०८३

जर्मनी राज्य चुनाव : चान्सलर मर्जको पार्टीको प्रदर्शन १९४९ यताकै कमजोर

जर्मनीको मेक्लेनबर्ग–भोर्पोमेर्नमा भएको राज्य चुनावमा दक्षिणपन्थी ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) पार्टी पहिलो बन्ने देखिएको छ ।

एआरडी टेलिभिजनको प्रारम्भिक प्रक्षेपणअनुसार एएफडीले ३८ दशमलव ३ प्रतिशत मत पाउने देखिएको रायटर्सले जनाएको छ ।

सत्तारूढ ‘सोसल डेमोक्रेटिक पार्टी’ (एसपीडी) ले ३५ दशमलव ४ प्रतिशत मत पाउने अनुमान गरिएको छ । तर चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमा रहेको ‘क्रिस्चियन डेमोक्रेटिक युनियन’ (सीडीयू) भने ५ प्रतिशतको थ्रेसहोल्डभन्दा तल देखिएको छ । पछिल्लो मतपरिणामअनुसार सीडीयूले ४ दशमलव ९ प्रतिशत मत पाएको छ ।

यससँगै सीडीयू राज्य संसद‍्मा प्रवेश गर्न नसक्ने सम्भावना देखिएको छ । यो सन् १९४९ पछि जर्मनीमा सीडीयूले व्यहोरेको सबैभन्दा कमजोर राज्य निर्वाचन परिणाम हो ।

परिणाम सार्वजनिक भएपछि चान्सलर मर्जले निर्वाचन परिणामलाई ‘विपत्ति’ को संज्ञा दिनुभएको छ । यद्यपि उहाँले पदबाट राजीनामा दिने सम्भावनाबारे चलिरहेको चर्चाबीच आफूले सुधारका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ ।

यस्तै बर्लिन राज्यको चुनावमा वामपन्थी डाई लिङ्के सबैभन्दा अगाडि देखिएको छ । प्रारम्भिक प्रक्षेपणअनुसार डाई लिङ्केले २६ प्रतिशत मत पाउने अनुमान छ । त्यसपछि सीडीयू र ग्रिन्स देखिएका छन् ।

यसैबीच  मेक्लेनबर्ग–भोर्पोमेर्नको परिणाम एएफडीका लागि लगातार दोस्रो ठूलो जीत बन्ने देखिएको छ । दुई हप्ताअघि भएको साक्सोनी–आनहाल्ट राज्यमा भएको चुनावमा एएफडीले ४४ प्रतिशत मतसहित ऐतिहासिक जीत हात पारेको थियो ।

प्रकाशित मिति:
थप विश्व