नेभिगेशन
सोमबार, असोज ५, २०८३

टुँडिखेलमा अड्किएको प्रधानमन्त्रीको आवाज न्यूयोर्कमा खुल्ने आशा गरौँ

प्रधानमन्त्री कस्तो हुनुपर्छ भनेर कसैलाई सोध्ने हो भने फ्याट्ट आउने जवाफ हो–यसअघिका जस्ता चाहिँ नहुन् ! त्यसो भए अहिलेका बालेन्द्र शाहजस्तै हुनुपर्ने हो त ? यो प्रश्नमा पनि हो भन्नेहरू कमै भेटिन थालेका छन् ।

आमनागरिकको चाहना हुन्छ–देशका प्रधानमन्त्री काम गर्ने, निर्णय गर्ने, जवाफ दिने र आवश्यक ठाउँमा देशको कुरा स्पष्टसँग राख्न सक्ने हुनुपर्छ । प्रधानमन्त्रीको बोलीमा सरकारको आत्मविश्वास, निर्णयमा दृढता र प्रस्तुतिमा नेतृत्व देखिनुपर्छ । तर संविधान दिवसका दिन गएको शनिवार सैनिक मञ्च टुँडिखेलमा प्रधानमन्त्री बालेन्द्र शाहको भाषण सुन्दा एउटा प्रश्न उठ्यो—हामीले खोजेको प्रधानमन्त्री र देखिरहेको प्रधानमन्त्री एउटै हुन् त ?

राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्व सहभागी भएको र आमनागरिकले हेरिरहेको कार्यक्रममा प्रधानमन्त्रीले अड्कीअड्की भाषण गर्नुभयो । अड्किँदै–रोकिँदै, कागजका अक्षरमा अल्झिएको, भाव र ओजविहीन तथा औपचारिकता पूरा गर्नैपर्ने बाध्यताजस्तो भाषण । आफ्नै भनाइ आफ्नै शैलीमा सम्प्रेषण गर्न अप्ठ्यारो परेको देखियो । समस्या कागज हेर्नुमा होइन । समस्या कागजमा लेखिएको कुरा आफ्नै विचार र विश्वासजस्तो सुनाउन नसक्नुमा हो ।

विश्व इतिहासमा प्रभावशाली भाषणका उदाहरण खोज्दा बेलायतका विन्स्टन चर्चिल र रुसका भ्लादिमिर लेनिनको नाम आउँछ । उनीहरूका विचार र राजनीतिक विरासतबारे विवाद हुन सक्छ, तर जनसमक्ष आफ्नो कुरा कसरी पुर्‍याउने भन्नेमा उनीहरूको वाककला अध्ययनयोग्य छ ।

दोस्रो विश्वयुद्धको कठिन समयमा बेलायती नागरिक र सेनाको मनोबल उच्च राख्न चर्चिलका भाषणहरूले महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । उनले जटिल वा लामा शब्दहरू भन्दा सर्वसाधारणले सजिलै बुझ्ने तर मन छुने पुराना अङ्ग्रेजी शब्दहरूको धेरै प्रयोग गर्थे । गम्भीर र नाटकीय प्रस्तुतिसहित एकदमै ढिलो, स्पष्ट र हरेक शब्दमा जोड दिएर बोल्थे ।

लेनिनको शैली फरक थियो । उनी तीव्र गतिमा बोल्थे, आवश्यक ठाउँमा हाउभाउबाट जोड दिन्थे र भाषणलाई केवल शब्दको प्रदर्शन होइन, विचारलाई श्रोतासम्म पुर्‍याउने माध्यम बनाउँथे । उनका भाषणमा हास्यसमेत हुन्थ्यो, तर त्यो केवल मनोरञ्जनका लागि नभई मूल राजनीतिक उद्देश्यलाई बलियो बनाउन प्रयोग हुन्थ्यो ।

बालेनले चर्चिल वा लेनिनको नक्कल गर्नुपर्छ भन्ने छैन ।

हाँसीमजाकमा मानिस भन्छन्, ‘पहिलेका प्रधानमन्त्री धेर बोले, अहिलेका प्रधानमन्त्री बोल्दैनन् ।’

प्रधानमन्त्री शाह सार्वजनिक कार्यक्रममा कमै जानुहुन्छ । गए पनि कम बोल्नुहुन्छ । विपक्षीसँग मात्रै होइन, आफ्नै पार्टीका नेताहरूसँग पनि भेटघाट र घुलमिल गर्न खोज्नुहुन्न । कसैसँग भेट भइहाल्यो भने परैबाट हात हल्लाएर हिँड्नुहुन्छ । संसद‍्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उत्सुक देखिनुहुन्न भनेर त संसद‍्मै आलोचना हुन्छ । व्यक्तिगत स्वभावका रूपमा यसलाई बुझ्न सकिएला । तर प्रधानमन्त्रीको कुर्सीमा बसेपछि व्यक्तिगत स्वभावभन्दा सार्वजनिक जिम्मेवारी ठूलो हुन्छ ।

अहिले देशको परिस्थिति असामान्य छ । भदौ १० मा हिमाली सुनामीले ल्याएको भोटेकोशीको बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ । तर यस घटनाले नेपाललाई हिमाली क्षेत्रमा बढ्दो जोखिम, जलवायु परिवर्तन र देशले भोग्नु परेको पीडा संसारले बुझ्ने र दुख्ने गरि सुनाउने अवसर पनि दिएको छ ।

यही पृष्ठभूमिमा प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपाललाई प्रतिनिधित्व गर्न जाँदै हुनुहुन्छ । त्यहाँ भोटेकोशीको पीडा तथ्यसहित सुनाउनुपर्छ । कति मानिस प्रभावित भए ? कति घर, सडक, पुल र पूर्वाधारमा क्षति भयो ? हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर कस्तो छ ? नेपालले अन्तर्राष्ट्रिय समुदायबाट के चाहेको छ ? पुनर्निर्माण र जलवायु अनुकूलनका लागि कस्तो सहयोग आवश्यक छ ? नेपालको जलवायु सङ्कट विश्वमञ्चमा जोडदार ढङ्गले उठाउने यो महत्त्वपूर्ण अवसर हो ।

तर त्यसका लागि भाषण पढेर पुग्दैन । विश्वका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको अगाडि उभिएर नेपालको प्रधानमन्त्रीले बोल्दा त्यो बालेन शाहको व्यक्तिगत प्रस्तुति मात्र हुँदैन, त्यहाँ सिङ्गै नेपाल उभिएको हुन्छ । भाषण र विशिष्ट व्यक्तिहरूसँगको जमघटमा उहाँका शब्द, आवाज, हाउभाउ, आँखाको सम्पर्क, तर्क र आत्मविश्वासले नेपालको प्रतिनिधित्व गर्छन् ।

त्यसैले टुँडिखेलको प्रस्तुति न्यूयोर्कमा दोहोरियो भने के होला भनेर चिन्ता लाग्नु स्वाभाविक हो । हामीलाई भाषण मात्र गर्ने प्रधानमन्त्री चाहिएको होइन, तर न्यूयोर्कमा नेपाल र नेपालीको पीडा संसारले बुझ्ने भाषा र वाणीमा प्रभावशाली ढङ्गले व्यक्त गर्ने प्रधानमन्त्री चाहिएको हो ।

बेलायतका चर्चिलको भाषण शक्ति सङ्कटलाई लुकाउनुमा थिएन, आँखामा आँखा जुधाएर जनतालाई सङ्कट देखाउनुमा थियो । लेनिनको वाककलाको एउटा विशेषता जटिल राजनीतिक विचारलाई स्राेताले बुझ्ने भाषामा पुर्‍याउनु थियो । यी ऐतिहासिक उदाहरणबाट आजका प्रधानमन्त्रीले सिक्नुपर्ने कुरा शैलीको नक्कल होइन, विचारको स्पष्टता, भाषाको सरलता र प्रस्तुतिको आत्मविश्वास हो ।

प्रधानमन्त्री बालेनलाई अहिले त्यही चाहिएको छ । रास्वपाले प्रधानमन्त्रीलाई भाषण लेखिदिनेभन्दा धेरै काम उहाँलाई आफ्नो कुरा आफ्नै आवाजमा, आफ्नै आत्मविश्वासमा र तथ्यसहित भन्न सक्ने बनाउन सहयोग गर्नुपर्छ ।

किनकि प्रधानमन्त्रीको परीक्षा कति लामो भाषण गर्नुभयो भन्नेमा हुँदैन । परीक्षा त त्यस बेला हुन्छ, जब संसारका सयौँ देशका प्रतिनिधि अगाडि बसेका हुन्छन् र प्रधानमन्त्रीको मुखबाट निस्किएको एउटा प्रश्नले नेपालको पीडा सुनाउँछ, एउटा तथ्यले नेपालको अवस्था बुझाउँछ र एउटा स्पष्ट मागले नेपालको आवश्यकता विश्वसामु राख्छ ।

असोज ३ गते टुँडिखेलमा अड्की–अड्की भाषण गरे पनि तस्वीरमा प्रधानमन्त्री हाँसेको र गफ गरेको देखियो । हाँस्ने र कुराकानी गर्ने कुरा सिक्न थालेका युवा प्रधानमन्त्रीको टुँडिखेलमा अड्किएको आवाज न्यूयोर्कमा खुल्छ भन्ने विश्वास गरौँ ।

प्रकाशित मिति:
थप विचार