नेभिगेशन
सोमबार, असोज ५, २०८३

रुसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता

रुसी संसदीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार झण्डै ७१ प्रतिशत मतगणना हुँदा युनाइटेड रसियाले ५७ दशमलव पाँच प्रतिशत मत प्राप्त गरेको छ । राज्य डुमाका ४५० सिटका लागि भएको यो चुनाव सन् २०२२ मा युक्रेनमाथि रुसको ठूलो सैन्य कारबाही शुरु भएपछिको पहिलो संसदीय चुनाव हो ।

प्रारम्भिक परिणाममा कम्युनिस्ट पार्टीले १४ प्रतिशत र राष्ट्रवादी एलडिपिआरले ८ दशमलव ७ प्रतिशत मत पाएका छन् । सरकारी समाचार संस्था तासका अनुसार सत्तारूढ दलले दुई तिहाइ बहुमत कायम राख्ने अनुमान् छ ।

युद्धविरोधी याब्लोको पार्टीलाई सर्वोच्च अदालतले चुनावको केही हप्ताअघि सङ्घीय सूचीमा उम्मेदवारी दिन रोक लगाएको थियो । यद्यपि उसका केही उम्मेदवार एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा रहेका थिए ।

रुसले कब्जा गरेको युक्रेनी भूभागमा समेत मतदान भएको छ । मतदानको अन्तिम दिन युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन् । चुनावको अन्तिम परिणाम आजै सार्वजनिक हुने अपेक्षा छ । 

प्रकाशित मिति:
थप विश्व