आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमानपछि पूर्वतयारी र प्रतिकार्यका लागि संयन्त्रलाई सक्रिय बनाएका छौं । मनसुनका बेला विपद् व्यवस्थापनका लागि तयार गरिएको संयन्त्रलाई नै अहिले पनि सक्रिय बनाउन लागिएको हो । विपद्को अवस्था आउन सक्ने सम्भावित परिस्थितिलाई ध्यानमा राखेर कुन–कुन मन्त्रालय तथा निकायले के–के काम गर्ने भन्ने जिम्मेवारी पहिले नै स्पष्ट गरिएकाले सम्बन्धित निकाय तयारी अवस्थामा छ ।
सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सतर्क रहन निर्देशन दिइसकेको छ । विपद्सँग सम्बन्धित अरु सरकारी निकायलाई समेत मौसमको अवस्थाबारे जानकारी गराइएको र आवश्यक तयारीसहित सतर्क रहन भनेका छौं ।

मौसमको पूर्वानुमानअनुसार तत्काल प्रतिकार्यमा उत्रने
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई आधार बनाएर आवश्यक कदम चाल्ने तयारी छ । अहिले नै अत्यधिक जोखिम जनाउने ‘रातो’ संकेत जारी नभए पनि मौसमको अवस्था परिवर्तन भएर त्यस्तो संकेत जारी भएमा सम्बन्धित क्षेत्रमा तत्काल पूर्वसूचना प्रवाह गर्ने तयारी छ । त्यसपछि जिल्ला प्रशासन कार्यालय र पालिकाले जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्नेछन् ।
जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना र सतर्कता
संघीय मन्त्रालय, प्रदेश सरकार, पालिका, सुरक्षा निकाय तथा स्वयंसेवकलाई पूर्वसूचनाअनुसार तयारी अवस्थामा रहन भनेका छौं । जोखिममा रहेका नागरिकलाई समयमै सूचना पु¥याउने, सम्भावित क्षतिको आंकलन गर्ने तथा आवश्यक परे तत्काल प्रतिकार्य गर्न सक्ने गरी सम्बन्धित संयन्त्र परिचालन गरिएको छ ।
जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सार्ने तयारी
बाढी, पहिरो र डुबानको जोखिम रहेका क्षेत्र पहिचान गरी त्यहाँ रहेका नागरिकलाई विपद् आउनुअघि नै सुरक्षित ठाउँमा सार्ने तयारी गरिएको छ । यसका लागि जिल्ला सुरक्षा समिति, पालिका र सुरक्षा निकायबीच समन्वय गरी आवश्यक कदम चाल्न संयन्त्र परिचालित छ ।
सडक अवरुद्ध हुन नदिन उपकरण तयारी अवस्थामा
अत्यधिक जोखिम देखिएका क्षेत्रमा आवश्यक परे यातायात सञ्चालनमा समेत रोक लगाउने तयारी छ । सडक अवरुद्ध भएमा तत्काल उपकरण परिचालन गरी बाटो खुलाउने व्यवस्था मिलाइनेछ । यसका लागि मौसम विभागसँग समन्वय भइरहेको छ ।
मूसलधारे वर्षाका कारण पहिरो जाने, सडक अवरुद्ध हुने तथा यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राखिएका छन् ।
सुरक्षा निकाय उद्धारका लागि तयारी अवस्थामा
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायतका सुरक्षा निकायलाई सम्भावित बाढी, पहिरो, डुबान तथा अन्य विपद्का घटनामा तत्काल उद्धार र प्रतिकार्य गर्न तयारी अवस्थामा छ । उद्धार तथा राहतका लागि पालिका र स्वयंसेवकसँग समेत समन्वय गरी काम गर्नेछन् ।
मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि सम्पर्क
मौसम तथा बाढीपहिरोसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिन्छ । गृह मन्त्रालयको २४ घण्टे विपद् हेल्पलाइन १२३४ पनि सञ्चालनमा छ । आवश्यक सूचना लिन वा दिन नेपाल प्रहरीको १०० नम्बर मा समेत सम्पर्क गर्न सकिन्छ ।
नागरिकको सतर्कता नै पहिलो सुरक्षा
सरकारका विभिन्न निकाय तयारी अवस्थामा रहे पनि विपद्को जोखिम कम गर्न आम नागरिकको सतर्कता सबैभन्दा महत्वपूर्ण छ । सरकारका सबै संयन्त्र हरेक नागरिकसम्म तत्काल पुग्न नसक्ने भएकाले नागरिक आफैंले आफ्नो घर, परिवार र समुदायको जोखिम पहिचान गरी आवश्यक सावधानी अपनाउनु जरुरी छ ।
आफू बसेको ठाउँ बाढी, पहिरो वा डुबानको जोखिममा छ कि छैन भन्नेबारे जानकारी लिन, परिवारका सदस्यलाई सुरक्षित राख्न र जोखिमको सूचना छिमेकी तथा सम्बन्धित निकायसम्म पुर्याउन नागरिकले सक्रिय भूमिका खेल्नुपर्छ ।
विशेषगरी शुक्रबारदेखि आइतबारसम्मको तीन दिन सकेसम्म लामो तथा रातिको यात्रा नगर्न, मौसम तथा विपद्सम्बन्धी सरकारी सूचना नियमित रूपमा हेर्न र जोखिम बढेमा सुरक्षित ठाउँमा जानुपर्छ ।
ठूलो वर्षाको सम्भावना रहेका बेला ‘सरकारले उद्धार गरिहाल्छ’ भनेर पर्खिनुभन्दा जोखिम आउनुअघि नै सुरक्षित हुनु नै सबैभन्दा महत्वपूर्ण पूर्वतयारी हो ।
(राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित)