नेभिगेशन
मंगलबार, असोज ६, २०८३

मलेसिया रोजगारीको विषयमा प्रधानमन्त्री शाह र मलेसियाका समकक्षीबीच टेलिफोन वार्ता

काठमाण्डौ - प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिनुभएको छ  । उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ ।

प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको बताउनु भएको छ । मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको भन्दै त्यहाँका श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ । 

यस अघि मलेसियाले नेपालका झण्डै १,१०० म्यानपावरमध्ये २५ वटालाई मात्रै छनोट गरेको विषय विवादित भएको थियो । 

प्रकाशित मिति:
थप राजनीति