नेभिगेशन
बुधबार, असोज ७, २०८३

राष्ट्रसंघ महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली संकटको चर्चा

काठमाण्डौ - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले तीन वर्षअघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनुभएको छ ।

न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालसहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोडदार रूपमा उठाउनुभएको हो । तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढाइचढाइ भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा सुरुमा पत्याइएन, तर आज यसको गम्भीर असर अपेक्षाभन्दा तीव्र र व्यापक रूपमा देखिइसकेको छ ।’

महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपाल जस्ता देशहरूले अरूकै कारण ठूलो क्षति व्यहोर्नु परेको भन्दै यो अन्तरपुस्ता अन्याय भएको उल्लेख गर्नुभयो । प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्‍याउँदै उहाँले बढी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढाउन आग्रह गर्नुभयो । अहिलेको जलवायु क्षतिपूर्ति कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटेरेसले विकसित देशहरूलाई अनुकूलन वित्त तीन गुणाले बढाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभयो ।

नेपालले पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर जलवायु न्याय र क्षतिपूर्तिको माग उठाउँदै आएको सन्दर्भमा राष्ट्रसंघ प्रमुखको यो भनाइलाई निकै महत्वका साथ हेरिएको छ । 

प्रकाशित मिति:
थप विश्व