नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँगको भेटवार्ता लगत्तै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुन सक्ने बताउनुभएको छ ।

उहाँले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुन सक्ने सङ्केत गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ह्वाइट हाउस भएको भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यो सम्झौतामा युक्रेनभन्दा बाहिरका पक्षसमेत संलग्न हुने बताउनुभयो ।

यद्यपि, ट्रम्पले प्रस्तावित सम्झौताका मुख्य प्रावधान, सहभागी हुने देशहरू तथा रुस र युक्रेनले गर्नुपर्ने सम्भावित सहमतिबारे विस्तृत जानकारी दिनुभएको छैन । ट्रम्प र दिमित्रीभबीच भएको छुट्टै भेटवार्ताले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै अमेरिका र रुसले व्यापक युरोपेली सुरक्षा व्यवस्थाबारे छलफल गरिरहेका छन् कि भन्ने प्रश्न उठाएको द वासिङ्टन पोस्टले जनाएको छ ।

नयाँ कूटनीतिक पहल यसै हप्ता युएईको अबुधाबीमा अमेरिकी मध्यस्थतामा हुने रुस र युक्रेनका प्रतिनिधिबीचको वार्ताको पूर्वसन्ध्यामा अघि बढेको हो । कूटनीतिक प्रयास तीव्र भए पनि रुस र युक्रेनबीच मतभेद यथावत् नै छ ।

दुवै पक्षले हवाई तथा ड्रोन आक्रमण जारी राखेकाले युद्ध अन्त्यको सम्भावना तत्काल अनिश्चित देखिएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति:
थप विश्व