नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

वायु प्रदूषण बढेपछि भारतको दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

काठमाण्डौ - भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले नियन्त्रणका कडा उपाय लागू गरेको छ ।

वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि बसेको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो । राजधानी र आसपासका क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोगले निकालेको विज्ञप्तिअनुसार, हिजो दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३८२ पुगेको थियो ।

यो स्तर अत्यन्त खराब श्रेणीमा पर्छ । आयोगले सम्बन्धित क्षेत्रका प्रदूषण नियन्त्रण निकायलाई यी उपाय कडाइका साथ पालना गराउन निर्देशन दिएको छ । तेस्रो चरणअन्तर्गत अत्यावश्यकबाहेकका सबै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लाग्छ । यसमा उत्खनन, माटो पुर्ने, बोरिङ, ड्रिलिङ, पाइलिङ, इँटा लगाउने, चिनाइ, सडक निर्माण तथा ठूला मर्मत सम्भारका काम पनि पर्छन् । त्यसै गरी, बीएस–३ मापदण्डका पेट्रोल तथा बीएस–४ मापदण्डका डिजेलबाट चल्ने चार पाङ्ग्रे गाडी सञ्चालनमा रोक लगाइएको छ ।

स्वास्थ्य विज्ञहरूले स्थानीय बासिन्दालाई बिहान सबेरै र सूर्यास्तपछि बाहिर निस्केर गरिने गतिविधि नगर्न तथा लामो समयसम्म वा बढी शारीरिक श्रम गर्नुपर्ने कामबाट जोगिन सुझाव दिएका छन् । दिल्ली विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरमध्ये एक हो । 

प्रकाशित मिति:
थप विश्व