नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

चिनिया राष्ट्रपति सी अमेरिका भ्रमणमा, ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत

चिनियाँ राष्ट्रपति सी जिनपिङ तीनदिने राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीलाई वासिङ्टनको संयुक्त सैन्य अखडा एन्ड्र्युजमा आफैं पुगेर स्वागत गर्नुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल मानिन्छ । सीको यो भ्रमण एक दशकभन्दा बढी समयपछि पहिलो अमेरिका भ्रमण हो । भ्रमणका क्रममा ट्रम्प र सीबीच अमेरिका–चीन सम्बन्धका सबैभन्दा संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा छ ।

व्यापार, अमेरिकी कर तथा चिनियाँ निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात् एआई, सेमिकन्डक्टर चिप, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन् । वासिङ्टनमा सीको भ्रमणलाई अत्यन्तै उच्चस्तरको राजकीय भ्रमणका रूपमा प्रस्तुत गरिएको छ । सीको भ्रमणको सबैभन्दा महत्वपूर्ण विषय अमेरिका–चीन व्यापार सम्बन्ध हो ।

अमेरिका र चीनबीचको व्यापार तनाव कम गर्न यसअघि भएको व्यापार युद्धविराम २ महिनापछि नोभेम्बरमा सकिँदै छ । अमेरिकी पक्षले चिनियाँ बजारमा अमेरिकी उत्पादनको पहुँच, दुर्लभ खनिजको निर्यात र व्यापार असन्तुलनका विषय उठाउने अपेक्षा छ । वार्तामा ताइवानबारे दुवै पक्षले आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा छ ।

विश्वका दुई ठूला आर्थिक तथा सैन्य शक्तिबीचको हुने यो भेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ । 

प्रकाशित मिति:
थप विश्व