नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

एआईले अष्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता अर्थात (एआई) एजेन्टले सरकारको मेडिकेयर तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा गर्नुभएको छ ।

यो घटना ३ महिनाअघि जुनमा भएको र एआई एजेन्टले सार्वजनिक तथा गैरसार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  । एआई एजेन्टले सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने सार्वजनिक मेडिकेयर तथ्याङ्क रिपोर्टिङ पोर्टलमा प्रवेश गरेको रोयटर्सले जनाएको छ  ।

पोर्टलमा मेडिकेयरसँग सम्बन्धित तथ्याङ्क, खर्चलगायत गैरसंवेदनशील विवरण राखिएका छन् । ओपनएआईले भने आफ्नो आन्तरिक मूल्याङ्कनका क्रममा एआई मोडलले अस्ट्रेलियाका विभिन्न सरकारी वेबसाइट तथा सेवामा अनपेक्षित गतिविधि गरेको पत्ता लागेको जनाएको छ ।

अल्बानिजले घटनाबारे ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग प्रत्यक्ष कुराकानी गरेको बताउनुभएको छ । उहाँले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई जानकारी गराउन ओपनएआईले निकै ढिला गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

ओपनएआईले अगस्टमा घटनाबारे जानकारी पाए पनि अस्ट्रेलियाली सरकारलाई सेप्टेम्बर १० मा मात्र जानकारी गराएको बताइएको छ । घटनाबारे अस्ट्रेलियाली संकेत निर्देशनालयको सहयोगमा फरेन्सिक अनुसन्धान भइरहेको छ ।

अल्बानिजले सरकारी वेबसाइटमा एआई एजेन्टले अनधिकृत प्रवेश गर्नु ‘अस्वीकार्य’ भएको बताउनुभएको छ । घटनाले स्वायत्त रूपमा काम गर्ने एआई एजेन्टबाट सरकारी तथा अन्य डिजिटल पूर्वाधारको सुरक्षामा उत्पन्न हुन सक्ने जोखिमबारे नयाँ चिन्ता बढाएको छ ।

प्रकाशित मिति:
थप विश्व