सार्वजनिक ठाउँमा आफैँमाथि आगो लगाएर वा आत्मदाह गरेर विरोध जनाउने र ज्यान गुमाउने घटनाहरू पछिल्लो समय शृङ्खलाबद्ध रूपमा बढ्दै गएका छन् । आत्मदाह अत्यन्तै डरलाग्दो र गम्भीर सामाजिक समस्याका रूपमा देखा परेको छ । त्रिपुरेश्वरको राहदानी विभाग नजिकै ट्राफिक प्रहरीसँगको विवादपछि बस चालकले बसभित्रै आगो लगाएको र केही महिनाअघि त्यही ठाउँमा पठाओ चालकले आत्मदाह गरेका जस्ता घटना केवल केही प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता घटना काठमाण्डौका माइतीघर, पुरानो संसद् भवन परिसरअघि लगायत तराईका जिल्लाहरूमा समेत निरन्तर दोहोरिरहेका छन् ।
बाटोमा हुने सामान्य भनाभन वा विवादले पनि भयानक रूप लिने र अन्ततः ज्यानै जाने अवस्थासम्म पुग्ने यो प्रवृत्तिले नेपाली समाजमा बढ्दो निराशा र अराजकताको सङ्केत गर्छ । समाजशास्त्री र मनोवैज्ञानिकहरूका अनुसार लामो समयदेखि सञ्चित संरचनागत दबाव, कमजोर संवाद संयन्त्र, मानसिक तनाव र बढ्दो निराशाले गर्दा व्यक्तिहरू यस्तो आत्मघाती र चरम कदम चाल्न बाध्य भइरहेका छन् ।
आफैँमाथि आगो लगाएर गरिने आत्महत्या अरू सामान्य आत्महत्याभन्दा भिन्न र बढी संवेदनशील हुन्छ । सामान्यतया सार्वजनिक ठाउँमा यसरी आगो लगाउनुको पछाडि राज्य, समाज वा सम्बन्धित निकायलाई कुनै न कुनै सन्देश दिन खोज्ने वा आफ्नो तीव्र असन्तुष्टि र आक्रोशलाई प्रकट गर्ने मनसाय लुकेको हुन्छ । तर यसरी व्यक्तिले आफ्ना असन्तुष्टि वा समस्याको समाधानका रूपमा आत्मदाहको बाटो रोज्नुले समाजमा अराजकतालाई प्रश्रय त दिन्छ नै, त्यसबाहेक राज्यको कानून कार्यान्वयन प्रक्रियामै ठूलो असर पुर्याउँछ । यदि कानून पालना गराउने क्रममा कुनै नागरिकले प्रतिरोध वा असन्तुष्टिका नाममा आफैँलाई आगो लगाउँछ भने भोलिका दिनमा सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई आफ्नो दायित्व पूरा गर्न अत्यन्तै कठिन हुनेछ । ट्राफिकले लाइसेन्स माग्दा वा सरकारी कार्यालयमा काम नहुँदा आगो लगाइदिने धम्की आउने वा आत्मदाह नै हुने हो भने राज्यका सम्पूर्ण कामकारबाही ठप्प हुने र प्रशासनिक संयन्त्र भयभीत हुने वातावरण सिर्जना हुन्छ ।
यस्ता घटना पछाडिको मुख्य कारण पूर्वाधारको कमी र त्यसले जन्माएको निरन्तरको मानसिक तनाव पनि हो । काठमाण्डौ उपत्यकाको कुरा गर्ने हो भने यहाँका पुराना र साँघुरा सडक, विकल्पहरूको अभाव, फ्लाईओभरजस्ता पूर्वाधारको ढिलाइ र दिनप्रतिदिन बढ्दो गाडीको चापले गर्दा सडकमा यात्रा गर्नु आफैँमा ठूलो मानसिक समस्याको विषय बनेको छ । एकातिर चालकहरू सडकको भद्रगोल र जामका कारण पहिले नै तीव्र तनाव र आक्रोशमा हुन्छन् । अर्कातिर तिनै सीमित पूर्वाधारमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यताले ट्राफिक प्रहरीहरू पनि उत्तिकै मानसिक दबावमा काम गरिरहेका हुन्छन् ।
जब यसरी दुवै पक्ष अत्यधिक तनावको अवस्थामा सडकमा आमनेसामने हुन्छन्, त्यहाँ सामान्य कुरामा पनि घर्षण र झगडा हुने सम्भावना निकै उच्च रहन्छ । ऐन र नियम त आफ्नो ठाउँमा छन्, नागरिकले नियमको पालना गर्नु र अधिकारीले नियम लागू गर्नु कर्तव्य हो तर विद्यमान भौतिक र मानसिक तनावले गर्दा मानिसहरू नियम र विवेकभन्दा बाहिर गएर उत्तेजित हुने गर्छन् ।
तसर्थ घटनापछि गठन गरिने प्रशासनिक वा प्रहरी छानबिन समितिले कसको गल्ती थियो वा कसले नियम उल्लङ्घन गर्याे भन्ने जस्ता सतही कुरा मात्र बाहिर ल्याउँछ । तर यो समस्याको दीर्घकालीन र वास्तविक समाधानका लागि घटनाको गहिरो मनोवैज्ञानिक र सामाजिक कारणहरू खोतल्न आवश्यक छ ।
मानवशास्त्री, मनोवैज्ञानिक, समाजशास्त्री र कानून कार्यान्वयन बुझेका विज्ञहरूको एउटा संयुक्त टोली बनाएर यस्ता घटनाहरूको सूक्ष्म अध्ययन गराउनुपर्छ । त्यसका साथै सडक पूर्वाधारको विकास, ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग र गाडी चालक तथा सर्वसाधारणका लागि मानसिक स्वास्थ्य परामर्श र काउन्सिलिङको व्यवस्था मिलाउनुपर्ने पनि देखिन्छ । यस्ता संवेदनशील अवस्थामा रहेका मानिसलाई कसरी समयमै पहिचान गर्ने, नियमन र नियन्त्रण गर्ने र उनीहरूलाई कसरी सही व्यवस्थापन गर्ने भन्नेतर्फ बेलैमा सोच विचार र ठोस कदम नचाले यसले भविष्यमा अझ भयावह रूप लिन सक्ने देखिन्छ ।
(नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित)