नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच  कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  देशमा विस्तार भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तरराष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभीले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तरराष्ट्रिय हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षरअघि दुवै देशका परराष्ट्रमन्त्रीबीच पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो अवसरमा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा समेत छलफल भएको थियो । दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोग विस्तारका नयाँ सम्भावना खोज्दै दुई देश तथा नागरिकको साझा प्रगति र समृद्धिका लागि सहकार्य अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै परराष्ट्रमन्त्री खनालले अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल  भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षति तथा त्यसपछि भइरहेको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासबारे समेत छलफल भएको थियो । मन्त्री खनालले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगका लागि धन्यवाद दिनुभयो ।

भेटवार्तामा मन्त्री खनाल र मन्त्री वोङबीच नेपाल तथा  अस्ट्रेलियाबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति:
थप राजनीति