नेभिगेशन
सोमबार, असोज २६, २०८३

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्धविराम गर्ने सहमति भएको दाबी गर्नुभएको छ । यसबारे रूसले औपचारिक प्रतिक्रिया भने नदिएको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाबारे आफूले पनि समाचारबाटै जानकारी पाएको बताउनु भएको छ । उहाँले रूस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्धविरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ ।

सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले ऊर्जा युद्धविरामप्रति समर्थन जनाउनुभएको छ । उहाँले युक्रेन युद्धविरामको पक्षमा रहेको र रूसले पनि त्यसलाई समर्थन गर्नुपर्ने बताउँदै यसबारे अमेरिकी पक्षबाट विस्तृत जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ ।

यसअघि जेलेन्स्कीले रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने हो भने युक्रेनले पनि रूसका तेल प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण नगर्ने बताउनुभएको थियो । ट्रम्पको पछिल्लो घोषणालाई हालै युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्न चेतावनी दिएकोले पनि महत्वपूर्ण मानिएको छ ।

उहाँले युक्रेनलाई नयाँ राष्ट्रपति आवश्यक रहेको टिप्पणीसमेत गर्नुभएको थियो । पछिल्ला दिनमा ट्रम्प र जेलेन्स्कीबीचको तनाव पनि बढ्दै गएको छ । रूसले पूर्णस्तरको सैन्य आक्रमण शुरु गरेपछि रूस–युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसकेको छ ।

पछिल्ला महिनामा दुवै देशले एकअर्काका ऊर्जा पूर्वाधार र अन्य महत्त्वपूर्ण संरचनालाई लक्षित गरी आक्रमण तीव्र बनाएका छन् । यस्तो अवस्थामा ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने सहमति कार्यान्वयन भए युद्धको प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यद्यपि, सहमतिको विस्तृत विवरण र रूसको औपचारिक धारणा सार्वजनिक हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति:
थप विश्व