नेभिगेशन
सोमबार, कात्तिक २, २०८३

इजरायलबाट अस्ट्रियाका लागि उडेको विमान बम राखेको धम्कीपछि आकस्मिक अवतरण

काठमाण्डौ - बम राखिएको धम्कीपछि इजरायलबाट अस्ट्रियाका लागि उडेको अस्ट्रियन एयरलाइन्सको विमान बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ ।

आइतबार (गएराति) तेल अभिभबाट भियनातर्फ उडेको एयरबस ए–३२० विमान बुल्गेरियाको राजधानी सोफियामा अवतरण गरिएको बुल्गेरियाको यातायात मन्त्रालयले जनाएको छ । विमान अवतरणपछि यात्रुलाई बाहिर निकालिएको थियो । विमानको सुरक्षाका लागि बुल्गेरियाली वायुसेनाले मिग–२९ लडाकु विमान परिचालन गरेको थियो । बुल्गेरिया र इजरायलका सञ्चारमाध्यमले विमानमा बम राखिएको धम्की आएको जनाएका छन् ।

अस्ट्रियन एयरलाइन्सले पनि धम्की आएको पुष्टि गरेको छ । यद्यपि, विस्तृत विवरण सार्वजनिक गरिएको छैन । यो विमानमा ५१ जना यात्रु र चालक दलका ६ सदस्य थिए । धम्कीको सूचना प्राप्त भएको झण्डै ३० मिनेटपछि विमान सोफियामा अवतरण भएको थियो । अघिल्लो महिना पनि तेल अभिभतर्फ जाँदै गरेको फ्लाई दुबईको विमान अपहरण गर्ने प्रयास भएको थियो ।

विमानका पाइलटमाथि आक्रमण गरेका एक व्यक्तिलाई चालक दल र यात्रुले समातेका थिए । त्यसपछि विमानलाई साउदी अरबमा सुरक्षित अवतरण गराइएको थियो । पछिल्लो घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
थप विश्व