नेभिगेशन
सोमबार, कात्तिक २, २०८३

सन् २०३५ सम्ममा बेइजिङ ‘अति वृद्ध’ जनसङ्ख्या भएको शहर बन्न सक्ने

सन् २०३५ सम्ममा चीनको राजधानी बेइजिङ ‘अति वृद्ध’ जनसङ्ख्या भएको शहर बन्न सक्ने अनुमान सार्वजनिक भएको छ ।

अबकाे ९ वर्षमा बेइजिङकाे झन्डै एकतिहाइ जनसङ्ख्या ६० वर्ष वा त्योभन्दा माथिको उमेर समूहको हुने अपेक्षा गरेको ‘बेइजिङ डेली’ लाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले  जनाएको छ ।

सन् २०२५ को अन्त्यसम्ममा बेइजिङमा ६० वर्ष वा त्योभन्दा माथिका ५२ लाख ९० हजार स्थायी बासिन्दा थिए, यो सङ्ख्या त्यहाँको कुल जनसङ्ख्याको झन्डै एकचौथाइ हो ।

चिनियाँ नीति निर्माताहरूले जनसङ्ख्या योजनालाई देशको आर्थिक रणनीतिको एक मुख्य हिस्सा बनाएका छन् । सन् २०२६ मा जन्मदर बढाउनका लागि सरकारले झन्डै १८० अर्ब युआन अर्थात् झन्डै ४१ खर्ब रुपैयाँ बराबरको सम्भावित लागत व्यहोर्नुपर्ने अवस्था आउन सक्ने खबरमा उल्लेख छ ।

बेइजिङ सरकारले वृद्ध बासिन्दाहरूका लागि सहयोग बढाउँदै लगेको छ, यसमा आधारभूत निवृत्तिभरण (पेन्सन) मा वृद्धि गर्नु पनि समावेश छ ।

सन् २०२२ देखि चीनको जनसङ्ख्या घट्न थालेको छ र वृद्धको सङ्ख्या बढ्दै गइरहेको छ । यसले आन्तरिक उपभोग बढाउने तथा ऋण नियन्त्रण गर्ने सरकारी योजनाहरूलाई जटिल बनाइदिएको छ । पेन्सन बजेटमाथि पहिले नै ठूलो दबाव रहेको अवस्थामा अब करोडौँ मानिस श्रम बजारबाट बाहिरिने क्रममा छन् ।

आज बालबालिकाको सङ्ख्या कम हुनुको अर्थ भविष्यमा घरपरिवारको सङ्ख्या घट्ने र उपभोग वृद्धिको गति सुस्त हुन सक्ने जनसाङ्ख्यिकीविद् र अर्थशास्त्रीहरूले बताएका छन् ।

प्रकाशित मिति:
थप विश्व