नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

पोखरा विमानस्थलबारेको मुद्दामा विशेष अदालतले भुक्तानी र ऋणको विवरण माग्यो

काठमाण्डाै – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले भुक्तानी र ऋणको विवरण माग गरेको छ ।

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीसहित प्रतिवादी रहेको मुद्दामा विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले चीनको निर्माण कम्पनी चाइना सीएएमसीले भुक्तानीका लागि दाबी गरेका बिल–भरपाइ, भुक्तानी भएको रकम र भुक्तानी हुन बाँकी रकमको विवरण माग गरेको हो ।

अदालतले यो विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणबाट झिकाउन आदेश दिएको छ ।

त्यस्तै नेपाल सरकारले चिनियाँ एक्जिम बैंकबाट लिएको ऋणको भुक्तानी प्रक्रिया र किस्तागत भुक्तानीको विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट झिकाउन पनि आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा तेस्रो मुद्दा दर्ता गर्दा कार्कीसहितलाई प्रतिवादी बनाएको थियो ।

निर्माण कम्पनीलाई गैरकानूनी रूपमा कर छुट दिएर राज्य कोषमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ नोक्सानी पुर्‍याएको अभियोगमा आयोगले मुद्दा दर्ता गराएको थियो ।

प्रकाशित मिति:
थप समाज