नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

पोखराको लगातार चौथो हार

काठमाण्डौ - नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको हारको शृङ्खला रोकिएको छैन । लगातार तीन हारपछि कप्तान परिवर्तन गरेर मैदान उत्रिएको पोखराले चितवन राइनोजविरुद्ध पनि हार बेहोरेको छ । 

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले पोखरालाई ३० रनले पराजित गरेको हो । चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रन बनाएर अलआउट भयो । चार खेलबाट ५ अङ्क जोडेको चितवन तेस्रो स्थानमा उक्लिँदा पोखरा अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

पोखराको ब्याटिङमा अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । ४४ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । युवराज सम्राले १९ तथा किरण ठगुन्नाले १३ र अर्जुन घर्तीले  १२ रन जोडे । नयाँ कप्तान चमिका करुणारत्नेको नेतृत्वमा मैदान उत्रिएको पोखराले ओपनिङ जोडीसमेत परिवर्तन गरेको थियो । कुशल भुर्तेलसँगै युवराज सम्रा ओपनिङमा आएका थिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । चितवनका कप्तान सिकन्दर राजाले १६ बलमा ३७ रन बनाए । रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डविड मलानले २८ रनको योगदान दिए ।

पोखराका लागि कप्तानी जिम्मेवारी सम्हालेका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए ।

प्रकाशित मिति:
थप खेलकुद