नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

डेटा सेन्टरको विरुद्ध युरोपमा आक्रामक प्रदर्शन

कृत्रिम बौद्धिकता अर्थात् एआईको तीव्र विकासले विश्वभर ऊर्जा र पूर्वाधारमाथि संकट गहिरिँदै जाँदा, युरोपमा यसको चर्को विरोध सुरु भएको छ ।

स्टप डर्टी डेटा सेन्टर्स गठबन्धनको आह्वानमा युरोपका १६ भन्दा बढी देशहरूमा भएका समन्वयात्मक प्रदर्शनले ठूला प्रविधि कम्पनीहरूको एकाधिकारविरुद्ध नागरिक आक्रोस देखिएको हो ।

नेदरल्याण्ड्सको राजधानी एम्सटर्डममा रहेको माइक्रोसफ्टको विशाल डेटा सेन्टर निर्माणस्थलमा सयौँ प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दैभित्र प्रवेश गरेका छन् । तोडफोड र सुरक्षाकर्मीसँगको झडपका क्रममा प्रहरीले दुई सयभन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ ।

आयरल्याण्ड, फ्रान्स, पोल्याण्ड र बेलायत लगायतका देशहरुमा पनि यस्तै प्रकारका विरोध र्‍यालीहरू निकालिएका छन् । प्रविधि कम्पनीहरुले स्थानीय समुदायको सहमतिबिना नै ऊर्जा र पानीका स्रोतहरूमा अत्यधिक कब्जा जमाइरहेको यो आन्दोलनको मुख्य ठहर छ ।

विज्ञहरूको चेतावनी अनुसार, डेटा सेन्टरहरूको अनियन्त्रित विस्तारले एकातिर आम नागरिकको बिजुलीको बिल बढाएको छ भने अर्कोतर्फ सरकारका जलवायु लक्ष्यहरूलाई समेत गम्भीर संकटमा पुर्याएको छ ।

अमेरिकी चुनावमा समेत यस्तै मुद्दाहरूले प्रभाव पारिरहेको बेला, युरोपेली नागरिकहरूको यो सडक संघर्षले आगामी दिनमा विश्वभरका सरकारहरूलाई ठूला प्रविधि कम्पनीमाथि कडा वातावरणीय नियम र नीतिगत अंकुश लगाउन बाध्य पार्नेछ । 
 

प्रकाशित मिति:
थप विश्व